
काठमाडौं । कृषि बाली तथा पशुपंक्षी बीमा गर्नेहरुको संख्या बढेको छ । चालु आवको चैतको तुलनामा बैशाखमा कृषि बाली तथा पशुपंक्षी बीमा गराउने बढेका छन् । बीमा समितिका अनुसार बीमा गर्नेहरुको संख्या बढेपनि बीमा शुल्क आर्जनमा भने कमी आएको छ । चैतको तुलनामा बैशाखमा कृषि तथा बाली बीमामार्फत उठ्ने कुल बीमा शुल्कमा कमी आएको हो ।
समितिका अनुसार बैशाखमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट १७ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैतको तुलनामा कृषि बाली तथा पशुपक्षी बीमामार्फत उठ्ने कुल बीमा शुल्कमा पनि कमी आएको छ । कृषि बाली तथा पशुपक्षी बीमामार्फत उठ्ने कुल बीमाशुल्क ३० दशमलव ७६ प्रतिशतले घटेको हो । चैतमा १ लाख १८ हजार ८९ बीमालेख विक्री गरी २४ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको थियो ।
तर, बैशाखमा घटेर १७ करोड १५ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन भएको छ । समितिका अनुसार बैशाखमा बीमालेख संख्याको विक्री भने बढेको छ । बैशाखमा १ लाख ३६ हजार ५६८ बीमालेख विक्री भएको छ ।
प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा चैतको तुलनामा बैशाखमा कुल बीमा शुल्क आर्जन घटेको छ । समितिका अनुसार प्रतिशतका आधारमा सबैभन्दा बढी बीमा शुल्क आर्जन घट्नेमा लुम्बिनी प्रदेश रहेको छ । यो प्रदेशमा कुल बीमाशुल्क आर्जन बैशाखमा ५०.७० प्रतिशत घटेको छ । यो प्रदेशमा चैतमा ३ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा बैशाखमा १ करोड ६३ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको हो
शाखमा सबैभन्दा बढी कृषि तथा बाली बीमा शुल्क आर्जन बागमती प्रदेशबाट भएको छ । यो प्रदेशबाट बैशाखमा ५४ हजार १९८ बीमालेख बिक्रीगरी ४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत चैत महिनामा कम्पनीहरुले ४६ हजार ७०४ बीमालेख बिक्री गरी ८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमालेख बढेपनि बीमाशुल्कमा भने कमी आएको छ ।
त्यसैगरी, प्रदेश नम्बर १ मा कम्पनीहरुले कृषि बाली तथा पशुपक्षी बीमाबाट १ बाट २ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चैत महिनाको तुलनामा बीमाशुल्क १ करोड २ लाख अर्थात ३०.४३ प्रतिशतले घटेको हो ।
मधेश प्रदेशबाट बैशाखमा कृषि तथा बाली बीमाबाट १ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क २३ प्रतिशत अर्थात ४४ लाख रुपैयाँले कम हो ।
समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्कमा पनि कमी आएको छ । बैशाखमा यस प्रदेशबाट २ करोड २१ लाख बीमा शुल्क आर्जन भएको छ । चैतमा ३ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको थियो । गत महिनाको तुलनामा यो बीमा शुल्क ३३.३९ प्रतिशत अर्थात १ करोड ११ लाख रुपैयाँले कम हो ।
बैशाखमा कर्णाली प्रदेशमा कृषि बाली तथा पशुपक्षी बीमा गर्नेहरु बढेका छन् । यससँगै बीमाशुल्कमा पनि वृद्धि भएको छ । बैशाखमा ८ हजार ७९७ बीमालेख विक्री भएको छ । चैतमा ६ हजार ३६ बीमालेख विक्री गरी ३ करोड रुपैयाँ ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको थियो ।
त्यसैगरी, कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत चैतको तुलनामा उक्त बीमा शुल्क २० लाख अर्थात २८.९२ प्रतिशतले कम हो । गत चैतमा कृषि तथा बाली बीमाबाट ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस