
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेठ २० गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । कम्पनीले ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यो आईपीओ जेठ २५ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म विक्री खुला हुनेछ । पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा यो आईपीओ जेठ २५ गतेसम्म विक्रीमा सम्भावना छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । जसमध्ये संस्थापकतर्फको ७५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर हिस्सा रहनेछ । कम्पनीको अध्यक्ष सीता आचार्य छिन् ।
यो हाइड्रोपावरले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ११ करोड ९६ लाख रुपैयाँ संचित नाफा कमाएको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६२ पैसा छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चित नाफा ५९ करोड ११ लाख रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १७ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १२ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस