aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अप्पर सोलु हाइड्रोको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० जेठ २०७९
अप्पर सोलु हाइड्रोको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । बैशाख २२ गतेदेखि विक्रीमा आएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गरिएको हो । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

छिटो अवधि जेठ ५ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि जेठ २० गतेसम्म विक्रीको मिति तय गरेको थियो । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भैरहेको हो । 

हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू. १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । पहिलो चरणमा स्थानीयमा आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीका कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत अर्थात १९ लाख ५७ हजार ५०० कित्ता शेयर विक्रीमा आउनेछ । सर्वसाधारणलाई समेत शेयर विक्री गरी बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड पुग्नेछ । 

यस कम्पनीको आर्थिक वर्ष ०७७/७७ सम्म सञ्चित नाफा रू. ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २१ छ ।

प्रतिक्रिया दिनुहोस