
काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५ लाख नाघेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनादेखि बैशाखसम्म ५ लाख ६ हजार २७० जनाले विभिन्न देश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये ४ लाख ६३ हजार ७५७ जना पुरुष र ४२ हजार ५१३ महिला रहेका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको मलेशिया, कतार साउदी अरब र युएईमा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ९० प्रतिशत कामदारहरु कार्यरत रहेका छन् ।
यस अवधिमा साउनमा महिला र पुरुष गरी १३ हजार ८ सयले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । त्यस्तै, भदौमा २ हजार ११ महिला र २७ हजार पुरुष गरी २९ हजार ६११ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
त्यसैगरी, असोजमा ६ हजार ३७३ महिला र ५५ हजार ८८० पुरुष गरी ६२ हजार ५३ जना, कात्तिकमा ९ हजार ५४८ महिला र ६३ हजार ६३७ पुरुष गरी ७३ हजार १८५ जना, मंसिरमा ९ हजार ८६ महिला र ६३ हजार ३६४ पुरुष गरी ७२ हजार ४५० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार पुस महिनामा वैदेशिक रोजगारीका लागि ५३ हजार ७१५ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा ८ हजार ९१० महिला र ४४ हजार ८०५ पुरुष रहेका छन् । त्यस्तै, माघमा ५ हजार २४८ महिला र २८ हजार ३४८ पुरुष गरी ३३ हजार ५९६ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यसैगरी, फागुनमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ४५० रहेको छ जसमा ५ हजार १९ जना महिला र ३१ हजार ४३१ पुरुष रहेका छन् । चैतमा ८ हजार ६६८ महिला र ४४ हजार ४८२ जना पुरुष गरी ५३ हजार १५० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।
चालु आवको फागुनसम्म वैदेशिक रोजगारीमा नयाँ तथा पुन श्रम स्वीकृति लिनेहरुको संख्या ५६ लाख ६५ हजार २२६ पुगेको छ । जसमध्ये पुरुषको संख्या ५३ लाख ४८ हजार ८१४ र महिलाको संख्या ३ लाख १६ हजार ४१२ रहेका छन् ।
एक महिनामा ४४ हजारभन्दा बढिले लिए पहिलो श्रम स्वीकृति
एक महिनामा ४४ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार ३४ हजार ४५९ जना पुरुष र ५ हजार ८४७ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् । पहिलो श्रम स्वीकृृति लिएकामध्ये विभिन्न मेनपावरबाट बहराइन जानेमा ७१८ जना रहेका छन् ।
यस्तै, साइप्रस जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या २२० रहेको छ भने बु्रनाइका पहिलो श्रम स्वीकृति लिनेको संख्या १ सय रहेको छ । त्यसैगरी, वैदेशिक रोजगार विभागबाट पहिलो स्वीकृति लिइ अल्बानिया जानेहरुमा २५० जना रहेका छन् । जापान जान पहिलो श्रमस्वीकृति लिनेहरुको संख्या २२२, जोर्डनका लागि ४५७ सय रहेको छ । यस अवधिमा सबैभन्दा धेरै ८ हजार ७९८ जनाले युएई जान पहिलो श्रम स्वीकृति लिएको तथ्याङकमा उल्लेख छ ।
विभागका अनुसार कुवेत जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ७ हजार १८१ रहेका छन । कुवेत जानका लागि श्रम स्वीकृति लिएकामध्ये देवान कन्सल्ट्रेन्ट प्रालिबाट ८५० जना, निल कमल हुम्यान रिसोर्स प्रालिबाट ३०५ जना रहेका छन्, भने बाँकी अन्य मेनपावर कम्पनीहरुबाट जाने भएका छन् ।
त्यसैगरी ओमानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या २४० जना, कतारका लागि ३ हजार ३३९ जना, मौरिससका लागि १०० जना, रोमानियाका लागि ६० जना रहेका छन् । र युएई जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ७९८ जना रहेको विभागको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएकाहरुमा १७ हजार ४७८ हजार ९८ जना रहेका छन् जसमा पुरुष १५ हजार १२९ जना र महिला २ हजार ३४९ जनाले अन्तिम स्वीकृति लिएका हुन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिपनभएका कामदारहरुको संख्या ४५ हजार ५ रहेको छ, जसमा ४० हजार ४३५ जना पुरुष र ४ हजार ५६९ जना महिला रहेका छन् ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या १०, पेशागत कामदारको संख्या ५४, अर्धदक्ष कामदारको संख्या ३ हजार ६७९ सिपयुक्त कामदारको संख्या २५ हजार ४६७ र सिप नभएका कामदारहरुको संख्या १५ हजार ७९४ रहेको तथ्याङकमा उल्लेख छ । ।
प्रतिक्रिया दिनुहोस