
काडमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ ।
बीमा समितिको निर्देशन एवं चुक्ता पुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेको छ ।
कम्पनीको मिति २०७५/१२/२१ मा सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्ता पुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरि सकिएको छ ।
आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत जीवन बीमाको सेवा प्रदान गरि रहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत देशको कुना काप्चामा रहेका बीमीतहरुलाई बीमा सेवा पुर्याइरहेको छ । वी आर द वेस्ट भन्ने नाराका साथ बीमा व्यवसाय गरिरहेको यस कम्पनीले बीमीतहरुलाई नेपालको बीमा इतिहासमा हालसम्मकै सर्वाधिक बोनस दर रु.८७ सम्म घोषणा गरेको छ ।
समितिको निर्देशन बमोजिम चुक्ता पुँजी रु. २ अर्ब पुर्याउँदै आगामी दिनमा नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै न्युन बीमाशुल्क दरमा नयाँ नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवं आधुनिक सेवा प्रदान गरिरहने र भविष्यमा पनि उच्चतम बोनस दर कायम गरि बीमीतहरुलाई लाभान्वित गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस