aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ जेठ २०७९
टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट

काठमाडौं । काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

उनका अनुसार आज साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विस्फोट हुँदा उक्त घटना भएको हो ।

मैनालीले किशोरीको बायाँ खुट्टा जली ‘फ्याक्चर’ भएको तथा दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेको छ भने दीपकको बायाँ गालामा पोलेको जनाइएको छ । दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  

उपत्यकाका भित्रका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।

काठमाडौंबाट हटाइनेमा कोत थुकु पेट्रोल पम्प, बालाजु, जयन्ती पेट्रोल पम्प, थापाथली, कनक पेट्रोल पम्प, कालीमाटी, मायाराम भोलाराम पेट्रल पम्प, थापाथली, बाबा पेट्रोल पम्प, कलङ्की, श्यामा पेट्रोल पम्प, कलङ्की रहेका छन् । त्यस्तै, त्रिशूल पेट्रोल पम्प, कलङ्की भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर, कामाख्या पेट्रोल पम्प, कोटेश्वर, जुबी पेट्रोल पम्प, बौद्ध, बराल पेट्रोल पम्प र बौद्ध सीता पेट्रोल पम्प, महाराजगञ्ज छन् । 

त्यस्तै, ललितपुरबाट बज्रबराही पेट्रोल पम्प, चापागाउँ, बालकुमारी पेट्रोल पम्प, चापागाउँ, टीका भैरव डिजेल स्टोर, चापागाउँ साझा पेट्रोल पम्प, जावलाखेल, एच पी इन्टरनेसनल, जावलाखेल र गायत्री पेट्रोल पम्प, जावलाखेललाई हटाउनका लागि पत्रचार भइरहेको निगमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस