
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री गर्न लागिएको हो । केयर रेटिङस नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै स्थानीयले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । यस आयोजनाको निर्माणका लागि कुल लागत १ अर्ब ४२ करोड २८ लाख ७२ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणसम्म पहिलो शेयर कारोबारका लागि मूल्य रेञ्ज तोक्ने व्यवस्था अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस