aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चिडियाखाना सूर्य विनायक सार्ने विषयमा यसो भन्छन् ललिपुरका मेयर महर्जन

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • बुधबार, २५ जेठ २०७९
चिडियाखाना सूर्य विनायक सार्ने विषयमा यसो भन्छन् ललिपुरका मेयर महर्जन

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना सार्ने कुरा हल्लामै सिमित हुने भएको छ । जावलाखेलमा रहेको सदर चिडीयाखाना साघुँरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको नयाँ चिडियाखाना निर्माण गर्ने योजना वर्षौ पहिला नै बनेको थियो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलको सदर चिडियाखानाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै एक प्रतिवेदन नै तयार पारेको थियो । त्यसका लागि भक्तपुरको सूर्यविनायक क्षेत्रको जंगललाई खुला चिडियाखानाको रुपमा विकास गर्ने अध्ययन पनि भएको थियो । तर, सम्भाव्यता देखिएको उक्त योजना डेढ दशक बितिसक्दा पनि कुनै निष्कर्ष भने निस्किन सकेको छैन । 

२०७१ माघ १० गते मन्त्रिपरिषद बैठकले यो भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ हसार ३ गते उक्त आयोजनाको शिलन्यास गरेका थिए । तर, कामले भने गति लिन सकेको छैन । सरकारले चिडियाखाना निमार्णको लागि ७५/७६ मा ७ करोड १७ लाख र ७६/७७ मा १० करोड रूपैयाँ गरी हरेक वर्ष बजेट छुट्याउँदै पनि आएको छ । 

हाल करिब ६ हेक्टर क्षेत्रफलमा रहेको जावलाखेलको चिडियाखाना सूर्यविनायकको २४५ हेक्टर क्षेत्रफलमा सार्नका लागि सूर्यविनायकका ७ वटा सामुदायिक वनलेसहमति पनि दिएका थिए । तर, योजना भने अझै अलपत्र परेको छ । 

ललितपुर महानगपालिकाका मेयर चिरीबाबु महर्जन पनि चिडियाखाना नसरोस् भन्ने चाहन्छन् । मेयर महर्जन भन्छन्, ‘चिडिया खाना सार्ने भनेको धेरै भयो नेपालमा कुरा गर्छन् काम गर्दैनन् । हामी पनि नलैजाओस् भन्ने चाहन्छौं । चिडियाखाना यहाँबाट सार्यो भने सरकारले पक्कै पनि त्यहाँ मन्त्री क्वाटर बनाउँछ । अथवा अरु कुनै भौतिक संरचनाहरु बनाउँछ ।’

उनका अनुसार हाल चिडियाखानामा ११ सय जलचर, थलचर जनावर र चराचुरुङगीहरु रहेका छन् । ‘नेपालको एउटा मात्र चिडियाखाना ललितपुर महानगरपालिकामा हुनु हाम्रो लागि गौरवको कुरा हो । जावलाखेलको चिडियाखाना सूर्य विनायक सार्ने भन्ने कुरा मैले एसएसली दिने बेलादेखि नै चलेको कुरा हो । अहिलेसम्म यसको कुनै क्षमता देखिएको छैन’, उनले भने । 

त्यसो त चिडियाखाना सार्ने कुरा पटक पटक नआएका पनि होइनन् । तर यसबारे सरकारले अझै पनि कुनै ठोस निर्णय भने गर्न सकिरहेको छैन । सबै योजनाहरु अलपत्र परेका छन् । मेयर महर्जन भन्छन्, ‘चिडियाखाना सार्ने कुरा पहिले पनि पनि चलेको थियो । हल्ला चलेरै सिमित हुन्छ । सूर्यविनायकको कुन ठाँउमा लगेर राख्छ मलाई थाहा छैन । अहिलेको अवस्थामा जग्गा पाउन पनि महाभारत छ । तसर्थ यो कुरा कुरामै सिमित हुन्छ र सिमित नै होस् भन्ने चाहना पनि छ । यहाँको चिडियाखानको पुर्वाधारहरुको विकास गर्नुपर्ने कुरामा हामी सहयोग गर्न सधै तयार छौ ।’

कोभिडको समयमा पनि लकडाउनका कारण मानिसहरु जान नसकेपछि त्यहाँका जनावरहरुलाई खुवाउने खाना पनि समस्या हुँदा आफुले सहयोग गरेको उनले सुनाए । उनी भन्छन्, ‘मानिसहरु आउन नसक्ने भएपपछि बाघ भालुलाई खुवाउन समस्या भएको भन्ने थाहा पाएपछि मैले १० लाख रुपैयाँ चन्दा दिए । यसबारेहरु व्यक्तिहरुलाई पनि जानकारी गरेपछि चिडियाघरका नीम्ति धेरै पैसा उठ्यो । अरु बेला त्यहाँको आम्दानीले खर्च पुग्छ ।’

उनका अनुसार कोेरोनाको समयमा लगभग २ वर्ष जति बन्द भएपछि आम्दानी हुन सकेन । जसले गर्दा कतिपय कर्मचारीहरुले आधा तलवमा पनि काम गरेका थिए भने कतिले तलव नै नलिपनि काम गरेका थिए । 

सरकारले चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिए अझै व्यवस्थित तरिकाले सञ्चालन गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘सकेसम्म चिडियाखाना नसारोस् भन्ने हाम्रो चाहना हो । हाम्रो मातहतमा त छैन । हामो भुगोलभित्र छ । त्यसको व्यवस्थापन हामीसँग छैन । सरकारले चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी हामीलाई दियो भने राम्रोसँग सञ्चालन गर्ने क्षमता राख्छौ ।’ 

उनका अनुसार वातावरणीय प्रदुषणको कारणले सबैलाई जोखिम छ । जावलाखेलको ग्राउण्डमा पनि विभिन्न स्कुलहरुको ग्रयाजुएशेनमा कन्सर्टहरु गर्ने, नयाँ वर्ष मनाउने, दशैमा पनि ठुलो कन्सर्टहरु गर्ने गरेकाले सबैलाई असर गरेको थियो । 

‘म मेयर भएर आउनासाथ त्यस्ता कन्सर्टहरु बन्द गर्न लगाए । अहिले बाघ भालु पनि आनन्दले सुत्न पाउँछन् । अहिले कुनै प्रकारको डिस्टर्भहरु छैन । हावाबाट हुने वातावरणीय प्रदुषण्ले भने असर गरिरहेको छ । जनावरलाई मात्र होइन तपाई हामीलाई पनि असर गरेको छ ।  यसलाई सुधार गर्न बान्छनीय छ’, उनले सुनाए । 

वातावरणीय प्रदुषणको नियन्त्रणका लागि पेट्रोज र डिजेलबाट चल्ने गाडीहरुलाई बन्द गर्ने बाहेक अन्य उपाय नभएको उनले बताए । मेयर महर्जनले भने, ‘वातावरणीय प्रदुषणलाई  नियन्त्रण गर्न पेट्रोज र डिजेलबाट चल्ने गाडीहरुलाई बन्द गर्ने बाहेक उपाय छैन । यी सवारी साधनहरु भविष्यमा बन्द गर्छ । दिगो विकासको अवधारणा २०२०–२०३० को लक्ष्यले २०३० सम्ममा बन्द गर्नुपर्छ भनेर बोलेको छ । तर नेपालले २०३० होइन २०४० सम्म बन्द गर्ने भन्ने कुरा बोलेको छ । जबकी कोरिया र जापानले २०२८ सम्ममा बन्दगर्ने भएको छ ।’

‘यस्तो भयो भने वातावरणीय सुधार होला । त्यसबेला चिडियाखानाका जनावरहरुलाई पनि सुधार होला । यस्ता कुराहरुलाई पनि सुधार गर्न वान्छनीय छ । हाम्रो तर्फबाट पनि सहयोग गर्नसक्ने कुराहरुमा हामी सधै तयार छौ’, उनले भने । 
 

प्रतिक्रिया दिनुहोस