काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २५ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी वाहेक बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री गर्न लागिएको हो । मंगलवारसम्म १५ लाख ४१ हजार ८३७ जना आवेदकहरूबाट १ करोड ८५ लाख २ हजार ६९० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा १३ दशमलव ५५ गुणा बढी हुन आउँछ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कार्यालय सयमपश्चात् विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर जेठ ११ गते बाँडफाँट भएको हो ।
जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरेको हो भने दोस्रो चरणमा १५ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्नेछ ।
कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस