aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्यार्थीलाई विद्युतीय चुलो वितरणका लागि पुनः निवेदन आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
विद्यार्थीलाई विद्युतीय चुलो वितरणका लागि पुनः निवेदन आह्वान

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न पुनः निवेदन आह्वान गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै २ हजार ५ सय विद्युतीय चुलो वितरणका लागि निवेदन आह्वान गरेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले जानकारी दिए । 

उनले आर्थिक न्युजडटकमसँग भने, ‘हामीले लगभग २५ सय विद्यार्थीहरुका लागि विद्युतीय चुलो वितरण गर्न पुन निवेदन आह्वान गरेका छौं । असार ९ गतेसम्म आवेदन दिन सकिने छ । यस अघिको आवेदन दिएका विद्यार्थीहरुलाई पनि १५ दिन भित्रमा चुलो वितरण गर्छौ ।’ 

केन्द्रले यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिई सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अनुसार उक्त  विद्युतीय चुलो वितरण गर्न लागिएको हो । 

यसअघि केन्द्रले उक्त विद्यार्थीहरुका लागि आवेदन दिन पाउने गरी सूचना समेत जारी गरेको थियो । सरकारले दुर्गम जिल्लाबाट आएर काठमाडौंमा भाडामा बसेर अध्ययन गर्ने स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि इन्डक्सन चुलो वितरण गर्न लागेको हो ।

केन्द्रका अनुसार इन्डक्सन चुलोका लागि सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्धन केन्द्रमा पेस गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस