aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि अन्तिम दिन जेठ २५ गतेसम्म मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ साढे ५ बजेसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री गरिएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।

जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत र दोस्रो चरणमा सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गरेको हो । कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ । 

कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस