aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पत्रकारको दुर्घटना बीमा गर्न महासङ्घ अग्रसर हुनुपर्ने महानिर्देशकको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ जेठ २०७९
पत्रकारको दुर्घटना बीमा गर्न महासङ्घ अग्रसर हुनुपर्ने महानिर्देशकको आग्रह

काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले पत्रकारको दुर्घटना बीमा गर्न नेपाल पत्रकार महासङ्घ अग्रसर हुनुपर्ने बताएका छन । दुर्गमको क्षेत्रमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा उनले पत्रकारको बीमा गर्न जिल्लास्थित महासङ्घ अग्रसर हुनुपर्ने बताए ।

दुर्गम क्षेत्रमा कार्यतर पत्रकारको अनिर्वाय दुर्घटना बीमा भएको महानिर्देशक हमालले बताए । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

दुर्गम जिल्लामा जोखिम मोलेर बाढी–पहिरोजस्ता विपद्का सूचना सङ्कलन गर्न जानुपर्ने बाध्यतामा रहेका पत्रकारको ज्यान जोखिममा पर्ने गरेको महानिर्देशक हमालले बताए । सरकारले दुर्घटनामा परेका पत्रकारलाई दुर्घटना बीमाअन्तर्गत रु सात लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । राज्यले पत्रकारको योगदानको कदर गर्दै दुर्घटना बीमा सञ्चालनमा ल्याएको उनले बताए ।

पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार पत्रकार दुर्घटना बीमाअन्तर्गत चोटपटकका कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकालाई रु सात लाखसम्म र दुर्घटनाबाट भएको उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा रु दुई लाखसम्मको खर्च व्यहोर्ने व्यवस्था छ । पत्रकार दुर्घटना बीमा गर्न सूचना विभागबाट जारी प्रेसपास र पत्रकार महासङ्घ सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान छ । 

त्यसैगरी सूचना विभागले सङ्खुवासभाका पत्रकारलाई घुम्ती शिविरमार्फत सेवा दिने जनाएको छ । शिविरमा सूचना विभागले अनलाइन दर्ता, प्रेसपास नवीकरण र प्रेसपास वितरण गर्ने जनाएको छ । शिविरबाट पत्रकारको काठमाडौँ जाँदा लाग्ने खर्चसमेत बचत हुने महानिर्देशक हमालले बताए । सङ्खुवासभाबाट काठमाडौँ पुगेर आउँदा रु २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो । शनिबारदेखि सुरु भएको तालिम तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस