
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आज गर्दैछ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा विहान ११ बजे सुरु हुने भएको हो । सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउँनेछ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ ।
सो पूँजीको आधारमा रू. १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र रू. ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । ११ प्रतिशत बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार कायम हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
उल्लेखित प्रस्तावहरुसँगै संस्थापक शेयरधनीहरूको तर्फबाट दुई जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकहरूको निर्वाचनको कार्यक्रम समेत सभाकालागि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस