aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भरतपुरकी पूर्णकलाले बनाउँछिन् तेल र मसलाबिनाको अचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
भरतपुरकी पूर्णकलाले बनाउँछिन् तेल र मसलाबिनाको अचार

चितवन । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ। तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।   

भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेका छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुग्नुभएकी चापागाईँ जहाँ काम गर्नुहुन्थ्यो त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् ।  

सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्किन । त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परे । दुर्घटनामा परी गम्भीर घाइते बनेकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन् ।   

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहनुभएको छ । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताईन् । उठेर खासै हिँडडुल गर्न नसक्ने उनी आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएकी छिन् । कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेकी छिन् ।  

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उनले बताईन् । पूर्णकलाले भनिन्, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताईन् । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेकी हुन् । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उनले भनिन्, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छौँ ।” एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उहाँको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस