
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा वैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आईपीओ विक्री गरेको थियो । सो अवधिभित्र प्राप्त आवेदनमध्ये रितपूर्वक आवेदन दिने आवेदकहरूलाई जेठ ३१ गते आईपीओ बाँडफाँट गरिएको हो । आईपीओ विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आईपीओ बाँडफाँट गरिएको हो ।
शेयरको बाँडफाँट गर्ने क्रममा कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रमा रहेका संकलन केन्दहरू तथा आस्बा प्रणालीबाट आवेदन दिने ६७८ जना आवेदकहरूबाट २ लाख ८४ हजार ४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये २३ जना आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूको समेत आवेदन पर्न आएकोले उनिहरूबाट माग भएको २ हजार ७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिने ६५५ जना आवेदकहरूबाट प्राप्त २ लाख ८१ हजार ७५० कित्ता शेयरको आवेदनलाई बाँडफाँटमा सहभागी गराईएको विक्री प्रबन्धकको भनाई छ । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयर भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गर्दा विक्री गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ ।
कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७÷७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ । यस अवधिसमम भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस