aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्जर प्रस्ताव पारितका लागि रिडी र रैराङले एकै दिन बोलाए विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
मर्जर प्रस्ताव पारितका लागि रिडी र रैराङले एकै दिन बोलाए विशेष साधारण सभा

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि असार १७ गते विशेष साधारण सभा बोलाएका छन् ।  रिडी हाइड्रोपावरको जेठ २४ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । रिडीले भर्चुअल माध्यमबाट सभा गर्ने जानकारी दिएको छ । 

त्यस्तै रैराङ हाइड्रोपावरको असार २ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । दुबै कम्पनीको विशेष सभाले रैराङ हाइड्रोपावर लिमिटेडलाई रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले गाभ्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।

यी दुई कम्पनी १ बराबर शून्य दशमलव ९३ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन । यस आधारमा रैराङ हाइड्रोपावरको १०० कित्ता शेयर बराबर रिडी हाइड्रोपावरको ९३ कित्ता शेयर प्राप्त हुनेछ । विशेष साधारण सभाले शेयर आदान प्रदान अनुपातलाई पनि स्वीकृति प्रदान गर्नेछ ।

पछिल्लो समय जलविद्युत कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्कासनलाई जोड दिईरहेको अवस्थामा यी दुई जलविद्युत कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन । दुबै कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । हाल रिडी हाइड्रोपावरको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको चुक्तापूँजी रू. ५६ करोड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस