aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओको मूल्य निर्धारण गर्न सर्वोत्तम सिमेन्टले बोलायो छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
आईपीओको मूल्य निर्धारण गर्न सर्वोत्तम सिमेन्टले बोलायो छलफल

काठमाडौं । बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेण्ट लिमिटेडले मूल्य निर्धारणको प्रकृया अघि बढाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मान्यताप्राप्त योग्य संस्थागत लगानीकर्ताहरूमा मूल्य निर्धारणका लागि छलफल कार्यक्रम आयोजना गर्ने भएको हो । 
बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई आशय मूल्य प्राप्त गर्न छलफल कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ । यसका लागि कम्पनीले असार १९ गते दिउसो ३ बजेर १५ मिनेटमा ¥याडिसन होटल, लाजिम्पाट, काठमाडौंमा छलफल कार्यक्रम गर्ने भएको हो । 

छलफल कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधि सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो सहित उपस्थित हुन कम्पनीले आग्रह गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस विधिबाट ६० लाख कित्ता आईपीओ सर्र्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो ।

आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा शेयरमूल्य तय हुनेछ । कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ । नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न विभिन्न १०० कम्पनीहरूले स्वीकृति पाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस