काठमाडौं । नेपालमा अचाक्ली मुल्यवृद्धि भइरहेको छ । निरन्तर रुपमा मुल्यवृिद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । अहिले दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, निर्माणका सामग्री लगायत सबैजसो क्षेत्रको मुल्य बढेको छ ।
सबैजसो क्षेत्रको मुल्य बढिरहेका बेला उत्पादनमा जोड दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताएका छन् । बिहिबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले भने, ‘अहिले नेपालमा मुल्यवृद्धि करिब ८ प्रतिशत पुगिसकेको छ । देशको अर्थतन्त्र रेमिट्यान्सबाट मात्र चलेको छ । रेमिट्यान्सबाट आएको पैसा आयातमा मात्र खर्च भयो । उत्पादनमा खर्च गर्न सकेनौ । यस्तो समयमा आफ्नै देशमा उत्पादन भएका वस्तुहरुको प्रवद्र्धन गर्ने नारा अहिले सान्दर्भिक हुन्छ ।
साथै उनले नेपालमा उत्पादन घट्नु र बाह्य कारणले गर्दा पनि मुल्य वृद्धि बढिरहेको गोल्छाको भनाइ छ । बाह््य आयातबाट मात्र अर्थतन्त्रलाई चलाएमान राख्न नहुने उनको तर्क छ । देश आर्थिक संकटमा रहेको बताउँदै उनले शेयरबजार पनि गम्भिर स्थितिमा रहेको बताए ।
यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि बढ्दो महंगीले आममानिस निरासमा रहेको बताए । बिहिबार एक कार्यक्रममा बोल्दै मल्ले भने, ‘महँगी दिनप्रतिदिन बढ्दो छ । जसले गर्दा आम मानिस निराश छन् । यसलाई कसरी आत्मशक्ति वृद्धि गर्ने कुरा गम्भिर रहेको छ ।
त्यस्तै, उनले घरेलु र प्राकृतिक रुपमा उत्पादित वस्तुहरुलाई अनलाइन मार्फत निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए । ‘देशको व्यापार घाटा कहाली लाग्दो छ । ११ महिनाको तथ्यांक हेर्ने हो भने १५ खर्ब ७७ अर्ब व्यापार घाटा रहेको छ । अबको एक महिनामा अझै बढ्ने छ’ उनले भने, ‘बजेटको आकारभन्दा पनि व्यापार घाटा ठुलो रहेको छ । यसका लागि पनि मुलुकलाई उत्पादनशिल बनाउनुपर्छ । घरेलु उत्पादनलाई जोड दिएर निर्यातमा वृद्धि गर्नुपर्छ अन्यथा मुलुक भविष्यमा संकट पर्नेछ ।’
यससँगै उत्पादन प्रवद्र्धन र व्यवसायको विस्तारका लागि सरकारी नीतिका तर्फबाट सहयोग नभएको उनको आरोप छ । उनी भन्छन्, ‘मुलुकमा तरलताको अभाव छ । आव २०७५/७६ को तुलानामा आव २०७९/८० मा रेमिट्यान्स घटेको छैन । कोरोनाको समयमा धेरै नेपालीहरु फर्किदा उनीहरुसँग भएको पैसा लिएर आएकाले पनि रेमिट्यान्स बढेको अवस्था छ । अहिले पनि रेमिट्यान्स त घटेको छैन । प्रणालीमा मिलेन । बैंकबाट उद्योग व्यवसायीहरुले पाउने सरल सुविधाहरु खर्चिलो र मँहगो भयो ।
उनका अनुसार विगतका वर्षमा भएको सीसीडी रसियो मार्फत राष्ट्र बैंकले बैंकहरुलाई नियमनमा राखेको थियो । त्यस बेला अहिले जस्तो हाहाकार र कोलाहल थिएन । अहिले सीसीडी रेसियोलाई हटाएर ९० प्रतिशतको सीडी रेसियो ल्याइयो । जसले गर्दा हरेक क्षेत्रमा ब्याजदर र बजारमा महँगी बढेको छ । रुस युक्रेनको द्धन्द्धका कारण पनि महँगी बढेको छ । अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकको समन्वय भइरहेको छैन । यी तीन क्षेत्रहरुले समन्वय गरेर अगाडी बढ्नु विकल्प छैन ।
उनी भन्छन्, ‘डबल डिजिटको आर्थिक वृद्धि गर्ने सरकार धोको छ । जब सम्म ब्याजदरको वृद्धि डबल डिजिटको हुन्छ तबसम्म डबल डिजिटको उपयोग हुन सक्दैन । डबल डिजिटको उपयोगका लागि सिंगल ब्याजदरको डिजिटमा झार्नुपर्छ ।’
उनका अनुसार गत वर्ष बैंकको बेस रेट प्रिमियममा ०.९५ देखि अधिकतम १.५ सम्म थियो । अहिले बेश रेट पनि बढेको अवस्था छ । बैंकले दिने प्रिमियममा ४ देखि ५ प्रतिशत गरिएको छ । ‘विभिन्न छाता संठगनहरुले निरन्तर आग्रह गरिहँदा पनि यसको कार्यान्वयन भएन । स्वच्छ वातावरण र सस्तोमा उपभोग गर्नका लागि केही कुराहरुमा कार्यान्वयन गर्न अनुरोध गर्न चाहन्छु’, उनले भने ।
व्यापार घाटा कम गर्नका लागि प्राकृतिक स्रोत र साधनहरुलाई जोड दिनुपर्ने मल्लको भनाइ छ । ‘व्यापार घाटा कम गर्नका लागि प्राकृतिक स्रोतहरुलाई सक्दो रुपमा कच्चा पदार्थमा नभई प्रोसेस गरेर निर्यात गर्नुपर्छ । उनी भन्छन्, ‘नेपालको हिमाली भेगमा धेरै मात्रामा गाँजा पाइन्छ । गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्छ । गाँजा क्यान्सर रोगको उपचारका लागि पनि काम लाग्छ । यसलाई उपयुक्त कानुन बनाएर नियमन गरी निर्यात गरेर मुलुकको व्यापार घाटा कम गर्न सकिन्छ । यसका लागि लागि ऐन बनाएर पारित गरी व्यापार घाटा कम गर्न अघि बढाउनुपर्छ ।’
मुलुकलाई आत्मनिर्भर बनाउनका लागि स्वदेशी उत्पादन र निर्यातमा सरकारले झै थासो दिनुपर्ने उनको तर्क छ । उनले भने, ‘हामीसँग भएको स्रोत साधन र उत्पादित वस्तुहरुलाई स्वदेशमै उपभोग गर्ने र निर्यात तर्फ पनि सरकारको ध्यान पुगोस । जलविद्युत् क्षेत्रमा निकै सम्भावना रहेको छ । झण्डै ३४५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । अब हामी उत्पादनशिल बनेर आत्मनिर्भर बन्नका लागि सबै मिलेर अगाडी बढ्नुपर्छ । अघि/अघि सरकार र पछि/पछि नीजि क्षेत्र आउने छ ।’
प्रतिक्रिया दिनुहोस