
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कुल शेयरमध्ये संस्थापक तर्फको ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६ दशमलव ०८८ कित्ता रहेको छ । असार २४ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्न सकिने उल्लेखित शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।
यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन् ।
नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस