aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अब सार्वजनिक सवारीको पनि भाडादर घट्ने, कहाँको कति तोकिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
अब सार्वजनिक सवारीको पनि भाडादर घट्ने, कहाँको कति तोकिन्छ ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरेर सार्वजनिक गर्ने तयारी गरेको हो । 

आज विभागको कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताइएको छ । विभागले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको छ ।  

सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आजमात्र समायोजनबारे निर्णय गर्न लागेको छ ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो । 

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसी पेट्रोलियम पद्धार्थको मुल्यमा भारी कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यस लगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पत्रकार सम्मेलन गरेर पेट्रोलियम पद्धार्थको मुल्य घटाएको घोषणा गरेका थिए । 

सरकारले शनिबार गएराति १२ बजेदेखि लागू  पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।  

विभागका महानिर्देशक नमराज घिमिरेले पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि भाडा घटाउने तयारी भएको बताए । 'सरकारले पेट्रोलियम पद्धार्थको मुल्य घटाएको छ । अब सार्वजनिक सवारीको पनि भाडादर समायोजन भएर नयाँ आउँछ ।'- घिमिरेको भनाइ रहेको छ । घिमिरिेले कहाँको भाडादर कति प्रतिशत घट्छ भन्ने बारेमा चाहीं केही खुलाएनन् । 

प्रतिक्रिया दिनुहोस