
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गते आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यी वाहेक बाँकी १८ लाख ३० हजार ४७२ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने असार २९ गतेसम्म विक्री खुला गरिने कम्पनीको भनाई छ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा छिटो अवधिभित्रै कम्नपीको आईपीओ विक्री हुने सम्भावना रहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको आईपीओ खरीदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने जारीपूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ८७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाखपुग्नेछ । आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।
कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशतशेयर हिस्सा रहने छ ।
प्रतिक्रिया दिनुहोस