aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लघुबीमा कार्यविधि अझै बनेन, कम्पनी खोल्न करिब तीन दर्जन फाइल समितिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
लघुबीमा कार्यविधि अझै बनेन, कम्पनी खोल्न करिब तीन दर्जन फाइल समितिमा

काठमाडौं । लघुबीमा सञ्चालनका लागि अध्ययन कमिटिले प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि लघुबीमा सञ्चालन कार्यविधि अहिलेसम्म बनेको छैन । नेपालमा लघुबीमा कार्यक्रम निर्जीवन बीमा कम्पनी मार्फत गर्दै आएको भएपनि लघुबीमा कार्यक्रम प्रभावकारी नभएको प्रतिवेदन बीमा समितिमा बुझाइएको छ । 

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत पनि लघुबीमा कार्यक्रमलाई अनिवार्य गरिने घोषणा गरेसँगै छुट्टै लघुबीमा कम्पनी खोल्नका लागि आवश्यक ऐन कानून तथा कार्यविधि बनाउने भनिएको थियो । तर, बीमा समितिले हालसम्म पनि लघुबीमा सञ्चालन कार्यविधि बनाउन नसक्दा नयाँ लघुबीमा सञ्चालन गर्ने कार्य अन्यौलमा परेको छ । लघुबीमा सञ्चालनका निमित्त कार्यविधि नबन्दै झण्डै तीन दर्जन कम्पनीहरुले बीमा समिति निवेदन भने दर्ता गरिसकेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेले भने कार्यविधि निर्माणको चरणमा रहेको जानकारी दिए । कार्यविधि निर्माण गर्न अझै थप समय लाग्ने भएकाले नयाँ लघुबीमा कम्पनीका सञ्चालनका लागि तत्काल आवेदन खुला गर्ने कुनैपनि योजना नभएको उनले बताए ।

बीमा समितिमा लघुबीमा सञ्चालनका निम्ति भन्दै ३२ वटा कम्पनीले आवेदन दिईसकेका छन् । समिति स्रोतका अनुसार निर्माणको चरणमा रहेको लघुबीमाको कार्यविधिमा चुक्ता पूँजी १ अर्ब रुपैयाँको व्यवस्था गरिने उल्लेख गरिएको छ । लघुबीमा सञ्चालन गर्न काठमाडौं उपत्यका भन्दा बाहिर मात्र दर्ता गर्न पाइने र सात प्रदेशमा एक/एक वटा कम्पनी दर्ता गर्न दिइने व्यवस्था गरिएको स्रोतले बताएको छ । 

लघुबीमा निर्देशिका, २०७१ अनुसार “लघुबीमा व्यवसाय” भन्नाले न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको संरक्षण गर्न यस निर्देशिका बमोजिम गरिने बीमा व्यवसाय हो । 

प्रतिक्रिया दिनुहोस