
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा असार १७ गते शुक्रवारसम्म १० लाख ५ हजार ७८८ जनाले आवेदन दिएका छन् । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार ४७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
शुक्रवारसम्म १ करोड १३ लाख ९८ हजार १० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । सार्वजनिक निष्कासनमा आएको तेस्रो दिनसम्म कम्पनीको आईपीओमा ६ दशमलव २२ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । सर्वसाधारणमा जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।
मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटा अवधि असार १९ गतेसम्म मात्र विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने जारीपूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ८७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाखपुग्नेछ । आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ । कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशतशेयर हिस्सा रहने छ ।
प्रतिक्रिया दिनुहोस