
काठमाडौं । कृषि तथा बाली बीमा गर्नेहरुको संख्या बढेको छ । चालु आवको बैशाखको तुलनामा जेठमा कृषि तथा बाली बीमा गराउने बढेका छन् । बीमा समितिका अनुसार बीमा गर्नेहरुको संख्या बढेपनि बीमा शुल्क आर्जनमा भने कमी आएको छ । बैशाखको तुलनामा जेठमा कृषि तथा बाली बीमामार्फत उठ्ने कुल बीमा शुल्कमा कमी आएको हो ।
समितिका अनुसार जेठमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट १४ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाखको तुलनामा कृषि तथा बाली बीमामार्फत उठ्ने कुल बीमा शुल्कमा पनि कमी आएको छ । कृषि तथा बाली बीमामार्फत उठ्ने कुल बीमाशुल्क १३ दशमलव १७ प्रतिशतले घटेको हो । बैशाखमा १ लाख ३६ हजार ५६८ बीमालेख विक्री गरी १७ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको थियो ।
तर, जेठमा घटेर १४ करोड ८९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन भएको छ । समितिका अनुसार जेठमा बीमालेख संख्याको विक्री भने बढेको छ । जेठमा १ लाख ५० हजार ३७८ बीमालेख विक्री भएको छ ।
प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा बैशाखको तुलनामा जेठमा कुल बीमा शुल्क आर्जन घटेको छ । समितिका अनुसार प्रतिशतका आधारमा सबैभन्दा बढी बीमा शुल्क आर्जन घट्नेमा कर्णाली प्रदेश रहेको छ । यो प्रदेशमा कुल बीमाशुल्क आर्जन जेठमा ९२.८२ प्रतिशत घटेको छ । यो प्रदेशमा बैशाखमा ४ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा जेठमा ३८ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको हो ।
जेठमा सबैभन्दा बढी कृषि तथा बाली बीमाशुल्क आर्जन बागमती प्रदेशबाट भएको छ । यो प्रदेशबाट जेठमा ५९ हजार १८५ बीमालेख बिक्रीगरी ५ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत बैशाख महिनामा कम्पनीहरुले ५४ हजार १९८ बीमालेख बिक्री गरी ४ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमालेख बढेसँगै बीमाशुल्कमा पनि बढेको छ ।
त्यसैगरी, प्रदेश नम्बर १ का बीमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट २ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बैशाख महिनाको तुलनामा बीमाशुल्क ३.८६ प्रतिशतले घटेको हो । बैशाख महिनामा कम्पनीहरुले २ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
मधेश प्रदेशबाट जेठमा कृषि तथा बाली बीमाबाट १ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क ९.११ प्रतिशत अर्थात ९३ लाख रुपैयाँले कम हो ।
समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्कमा पनि वृद्धि भक्एो छ । जेठमा यस प्रदेशबाट २ करोड ७५ लाख बीमाशुल्क आर्जन भएको छ । बैशाखमा २ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको थियो । गत महिनाको तुलनामा यो बीमाशुल्क २४.११ प्रतिशत अर्थात ५३ लाख रुपैयाँले बढि हो ।
बैशाखमा कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरु बढेका छन् । तर, बीमाशुल्कमा भने कमी आएको छ । बैशाखमा ९ हजार ४२७ बीमालेख विक्री भएको छ । बैशाखमा ८ हजार ७९७ बीमालेख विक्री गरी ४ करोड रुपैयाँ १२८ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको थियो ।
त्यसैगरी, कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत बैशाखको तुलनामा उक्त बीमा शुल्क १७ लाख अर्थात १३.१९ प्रतिशतले कम हो । गत बैशाखमा कृषि तथा बाली बीमाबाट ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस