aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्जर तथा प्राप्ती प्रस्तावसहित सिटिजन लाइफले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
मर्जर तथा प्राप्ती प्रस्तावसहित सिटिजन लाइफले बोलायो विशेष साधारण सभा

काठमाडौं । सर्वसाधारणमा प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले पनि पूँजीबृद्धिका लागि मर्जर तथा प्राप्तीको बाटो रोज्ने भएको छ । कम्पनीले नियामक निकायको निर्देशन बमोजिम पूँजीबृद्धिका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्तीमा जाने योजना बनाएको हो । 

कम्पनीले अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने र भविश्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्तीमा जाने विशेष प्रस्ताव सहित साउन ६ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १३ गतेको सञ्चालक समितिको बैठकले होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउसो ३ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले उल्लेखित प्रस्तावहरूसँगै सञ्चालक समितिको निर्वाचन समेत गर्नेछ । सभाले भविश्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । 

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीको हाल चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले जारी पूँजी रू. २ अर्ब ५० करोडको ३० प्रतिशत अर्थात रू. ७५ करोड बराबरको आईपीओ सर्वसाधारणमा निष्कासनको तयारी गरेको हो । आईपीओ निष्कासनको प्रस्ताव भने कम्पनीले गत चैत ११ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको अर्थात समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको मानिने इक्रा एनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस