
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणमा पहिलो चरणमा स्थानीयका लागि आईपीओ निष्कासन गर्दा वितरण हुन नसकेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता आईपीओ जारी गर्न लागिएको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी २१ लाख ७६ हजार ९४० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ लाख कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । छिटोमा साउन १ गतेसम्म विक्रीमा रहने मिति तय भएको यो आईपीओ खरीदका लागि सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन ११ गतेसम्म विक्री खुला गरिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्ने सम्भावना देखिन्छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाइ दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयरको वेब तथा एपमार्फत पनि यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस