aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

४९.१८ प्रतिशतले बढ्यो कुल जीवन बीमा लेखको संख्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असार २०७९
४९.१८ प्रतिशतले बढ्यो कुल जीवन बीमा लेखको संख्या

काठमाडौं ।  एक वर्षको अवधिमा कुल जीवन बीमालेख ४९.१८ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार गत वर्षको जेठ मसान्तदेखि यस वर्षको जेठ मसान्तसम्म बीमालेख संख्या ४१ लाख ६४ हजार २३८ ले बढेको हो । गत वर्षको जेठ मसान्तसम्म कुल बीमालेख संख्या ८४ लाख ६८ हजार १३५ रहेकोमा चालु आवको सोही अवधिमा ४९.१८ प्रतिशतले बढेर १ करोड २६ लाख ३२ हजार ३७३ पुगेको छ ।  

समितिका अनुसार कुल निर्जीवन बीमा कम्पनीको बीमालेख भने घटेको छ । गत वर्षको जेठ मसान्तसम्म २४ लाख ६४ हजार ९१३  बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख ४.७३ प्रतिशतले घटेर २३ लाख ४८ हजार २३२ पुगेको छ ।  

म्यादि, लघु बीमा र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ५१.१० प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ५१ लाख ३९ हजार ४०१ पुगेको छ भने म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या ६६ लाख १६ हजार ४३१ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ७७ लाख ८० हजार ४७ रहेको थियो । 

त्यस्तै, वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष २७.३९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जेठ मसान्तसम्म ६ लाख ८८ हजार ८८ बीमालेख रहेकोमा यस वर्ष बढेर ८ लाख ७६ हजार ५४१ पुगेको छ ।  समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि १९.२३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ खर्ब २८ अर्ब ८६ करोड बीमा शुल्क संकलन भएको यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १ खर्ब ५३ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि १६.७५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जेठ मसान्तसम्म ९८ अर्ब ८९ करोड बीमा शुल्क संकलन भएको यस वर्ष १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा पनि २८.८० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जेठ मसान्तसम्म २६ अर्ब ५२ करोड बीमा शुल्क संकलन भएको यस वर्ष ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । 

यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ४८ लाख ८२ हजार ४३१ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड २० लाख ४४ हजार ५८१ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ७३ लाख ९१ हजार ४५ रहेको थियो । 
 
यसैगरी, म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १६.१५ प्रतिशत रहेको छ । म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसंख्या ३९.८३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा २७.१२ प्रतिशत जनसंख्या रहेको थियो ।

साथै, म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेखसहित बीमाको दायरामा आएको जनसंख्या ३६.९३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख जनसंख्या २४.८१ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । 

समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि १०.११ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु २ हजार ९१५ रहेकोमा यस वर्ष ३ हजार ३५५ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या भने १०.११ प्रतिशतले घटेर ११ हजार ८५१ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ७६३ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस