aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफले पूँजी वृद्धिका लागि पारित गर्याे मर्जर तथा प्राप्तीको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असार २०७९
प्रभु लाइफले पूँजी वृद्धिका लागि पारित गर्याे मर्जर तथा प्राप्तीको प्रस्ताव

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको निर्देशन बमोजिम पूँजी बृद्धिका लागि मर्जर तथा प्राप्तीको बाटो रोज्ने भएको छ । कम्पनीले अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत गर्दै बिहीवार सम्पन्न विशेष साधारण सभामार्फत मर्जर तथा प्राप्तीको प्रस्ताव पारित गरेको हो ।

भविश्यमा कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई आगामी एक वर्षभित्र रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब रहेको छ । कम्पनीलाई थप रू. ३ अर्ब चुक्तापूँजी आवश्यक पर्नेछ । कम्पनीले पूँजीबृद्धिका लागि हकप्रद शेयर समेत जारी गर्न सकिने बताएको छ । बिहीवार सम्पन्न विशेष साधारण सभाले हकप्रद शेयर जारी गर्ने थप प्रस्ताव समेत पारित गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनी ऐनको दफा ६७ मा भएको ब्यबस्था अनुसार सभाले हकप्रद निष्कासनको एजेन्डा थप गरेको कम्पनीको भनाई छ ।

हकप्रद शेयरको सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी समेत सभाले सञ्चालक समितिलाई दिएको छ । यी प्रस्तावहरूसँगै सभाले संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नियुक्तीलाई समेत अनुमोदन गरेको छ ।

साथै सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गर्ने निर्देशन आएमा सोही अनुरुप कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस