
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ प्रि– अलोटमेन्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले शुक्रवार प्रि–अलोटमेन्ट कार्य सम्पन्न गरेको हो । क्यापिटलले असार २८ गते उक्त आईपीओको अन्तिम बाँडफाँट गर्ने जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।
यी बाहेक सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरको बाँडफाँट असार २८ गते हुने भएको हो । कम्पनीले सर्वसाधारणमा असार १५ गतेदेखि असार १९ गतेसम्मसम्म सार्वजनिक निष्कासनमार्फत आईपीओ विक्री गरेको थियो ।
यस कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् । यी मध्य थप दुई जनाले एक एक कित्ताका दरले शेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।
कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ९८ करोड र जारीपूँजी रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । हाल कम्पनीको संस्थापकतर्फ चुक्ताभएको पूँजी रू. ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारण तर्फको आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशत शेयर हिस्सा रहने छ ।
आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।
पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?
कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६ दशमलव ३३ देखि रू. २२८ दशमलव ९९ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुनै पनि नयाँ कम्पनीको पहिलो धितोपत्र कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने गरेको छ । यस कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस