
काठमाडौं । विसं २०६२ देखि २०७१ को अवधिमा भारतबाट नेपाल हुँदै चीनतर्फ अवैधरुपमा लैजादै गरेका रक्तचन्दन बरामद हुने गर्थे । त्यसबेला नेपालका विभिन्न स्थानबाट दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन काठ बरामद गरिएको थियो ।
नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो । पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलो रक्तचन्दन बरामद भएको थियो । उक्त रक्तचन्दन भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमानाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएका थियो ।
वि.सं. २०६२ देखि २०७१ सालको विभिन्न समयमा समातिएका रक्तचन्दन काठमाडौंको वन तथा भूसंरक्षण विभाग परिसर लगायत ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा सुरक्षा साथ राखिएको छ । समातिएको रक्तचन्दन मध्ये सबैभन्दा बढी परिमाण विभाग परिसरमा रहेको छ ।
एक लाख ९० हजार सात सय ९६ किलोग्राम बरामद रक्तचन्दन वन विभागमा राखिएको छ । भारतबाट नेपाल हुँदै चीनतर्फ तस्कर हुन लागेको रक्तचन्दनले भरिएका ट्रक वर्षौदेखि वन परिसरमा अझै छन् । वर्षौंअघि समातिएका यी ट्रकमा रहेको रक्तचन्दनवन विभागको परिसरमा सुरक्षाकर्मीसहित राखिएको छ । उक्त रक्तचन्दन सुरक्षाका लागि सशस्त्र प्रहरी र वन रक्षकको टोली नियमित कार्यरत छन् ।
बरामद गरिएको रक्तचन्दनमध्ये केहि मात्रा भने हराएको विभाग स्रोतले जनाएको छ । ‘वर्षौँ पहिले बरामद भएको रक्तचन्दन विभाग लगायत देशभरका विभिन्न ठाउँमा राखिएको छ । तर, बरामद गर्दा जति थियो त्यो अहिलेसम्म आइपुग्दा सबै छैन । केहि रक्तचन्दन हराएको छ । रक्तचन्दन चोरी गरेको आरोपमा केहि कर्मचारीहरुलाई कारबाही समेत गरिएको थियो’, स्रोतले भन्यो ।
विभाग स्रोतका अनुसार नेपाल भित्रिएको रक्तचन्दन भारतबाट आएकोले उतै फर्काउने प्रयास पनि गरिएको थियो । करिब तीन वर्ष पहिले नै मन्त्रिपरिषद् निर्णयबाट मुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ भारत फिर्ता लैजान स्वीकृति दिएको थियो ।
परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिइएको थियो । स्वीकृति पाएपनि उक्त रक्तचन्दन फिर्ता लैजाने सम्बन्धमा भारतबाट ठोस पहल भएको नदेखिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान छ । त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरेको थियो । रक्तचन्दन काठमध्ये विसं २०६५ माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ हजार ९२८ किलो रक्तचन्दन भारतले फिर्ता लगेको थियो । त्यसपछि मन्त्रिपरिषद्बाट विस २०७१ फागुन १२ गते निर्णय भएको २७ हजार १६६ किलो रक्तचन्दन भारतले हालसम्म फिर्ता लगेको छैन ।
नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको व्यवस्थापनमा समस्या देखिएको छ । प्रहरी र वन विभागले समातेका रक्तचन्दनको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ । विभागलाई उक्त रक्तचन्दन निल्नु न ओकाल्नु झै भएको छ । न फिर्ता पठाउन सक्छ, न लिलाम नै गरेर सदुपयोग गर्न सक्छ ।
‘विभागमा वर्षौदेखि राखिएको रक्तचन्दन भारतबाट आएकोले भारत नै फर्काउन प्रयास गरिएको थियो । तर, नेपालले पटक पटक फर्काएन प्रयास गरेपनि भारतले भने चासो देखाएको छैन’, विभाग स्रोतले आर्थिक न्युजसंग भन्यो,‘रक्तचन्दन राखएिको ट्रकका टायर समेत मक्किसके । तर, भारतले लैजान चासो देखाउँदैन । यता वन विभागले लिलाम गर्न पनि सक्दैन । रक्तचन्दन व्यवस्थापन र सुरक्षामा खर्च मात्रै बढेको बढ्यै छ ।’
यता, वन विभागसंग अहिले कति परिणाममा रक्तचन्दन छ भन्ने यकिन तथ्यांक नै नरहेको राष्ट्रिय सतर्कता केन्द्रको जिकिर छ । ‘रक्तचन्दन सम्बन्धी सवारी साधनहरु कुन जिल्लाबाट कहिले विभागमा लयाएर थन्काई राखिएको भन्ने विषयमा विभागमा आधिकारिक अभिलेख भएको पाईएन । विवरण नै नभएका साधन विभाग परिसरमा धन्किनु विभागले व्यापक हेलचेक्याई गरेको देखिन्छ’ सतर्कता केन्द्र स्रोतले भन्यो ।
स्रोतका अनुसार उक्त सवारी साधनको आधिकारिक रेकर्ड बिना परिषरमा थन्काई राखी सवारी साधनमा खिया लागि वातावरण प्रदुषण गर्ने कार्य भएको छ । साथै विभाग परिषर कुरुप अवस्थामा रहेको तथा स्थलगत हेर्दा समेत देखिएकोले उक्त कार्यसंग सम्बन्धीत जिम्मेवार पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न केन्द्रले निर्देशन समेत दिएको छ । साथै उक्त सवारी साधनको यथासिघ्र ब्यवस्थापन गरि सो को जानकारी केन्द्रलाई उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत केन्द्रले लिएको छ ।
रक्तचन्दन हिन्दू संस्कारसित पनि जोडिएको पैदावार हो । यसलाई पूजा गर्ने, घोटेर खाने वा मृत्यु संस्कारमा समेत प्रयोग गर्ने चलन छ । गिरिजाप्रसाद कोइरालाको दाहसंस्कारमा पनि यही समातिएको रक्तचन्दनमध्येबाट १ सय १० केजी प्रयोग गरिएको थियो । सरकारले नै लिखित अनुमति दिएपछि त्यसबेला रक्तचन्दन आर्यघाट पठाइएको थियो । भारतले उक्त रक्तचन्दन नलैजाने हो भने नेपालमै सदुपयोग गर्न लिलाम बढाबढ गरेर वा पशुपति आर्यघाटमा सर्वसाधारणको लागि पनि वितरण गरी सदुपयोग गर्न सकिने विज्ञको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस