aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘शेयर बजार घटेका बेला यसरी कमाउन सकिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९

शेयर बजारमा लगानीकर्ताकोहरुको सङ्ख्या व्यापकरुपमा वृद्धि भइरहेको छ । यसलाई मैले सुखदरुपमा लिएको छु । शेयर बजार देशको आर्थिक गतिविधि मापन गर्ने प्रमुख एउटा भाग हो । शेयर बजारको भविष्य उज्ज्वल देखेको छु  ।

तथापि पछिल्लो समय सरकारका अस्थिर नीतिका कारण तथा नेपाल राष्ट्र बैंकको पोलिसिका कारणले शेयर बजार अस्थिर जस्तो देखिएको छ । तर, यो अस्थिरता लामो समयसम्म रहँदैन । संसद्सम्म शेयर लगानीकर्ताकाबारेमा आवाज उठिरहेका छन् ।  बिस्तारै सम्हालेर लयमा फर्किनेछ

गत वर्षमै १५ अर्ब भन्दा बढी सरकारले शेयर बजारबाट राजस्व आर्जन गरेको थियो । अर्बौँ रुपैयाँ राजस्व आउने क्षेत्र शेयर बजारलाई लगानीको एउटा क्षेत्रकोरुपमा सरकारले हेरेको छैन । यसो हुनेमा विभिन्न कारण रहेको छ । राजनीतिक क्षेत्रमा नेतृत्व गर्नेहरूले आर्थिकबारे खासै अध्ययन गरेर नेतृत्वमा पुगेका छैनन । जसले गर्दा शेयर बजार पनि लगानीको क्षेत्र हो भनेर लगानी गर्नलाई प्रोत्साहन गर्न सकेका छैनन ।

सांसदहरूले संसदमा शेयर बजारबारेका कुरा बोल्दा शेयर बजारको वस्तु स्थितिबारे स्पष्ट भन्न सकिरहेका छैनन् । कतिपय ५२ लाखको भोट नआउँला भन्ने डरले राजनीतिक दलले शेयर बजारबारे बोलिदिएका मात्रै हुन् । 

शेयर बजारमा लामो समयदेखि गिरावट आएका कारण सरकारले अर्बौँ रुपैयाँ राजस्व समेत गुमाएको छ । शेयर बजार चलायमान भएन भने देशको अर्थतन्त्र समेत चलायमान हुन सक्दैन । यी विभिन्न कुराहरूलाई हेरेर शेयर बजारलाई सरकारले ब्यारोमिटरका रूपमा हेरेर सही नीति ल्याउन आवश्यक रहेको छ । 

नियमनकारी निकायले बजार विकास र विस्तारको लागि काम गरेको छैन । यससँगै ठूला लगानीकर्ताले पनि शेयर बजारको विकास विस्तारको लागि भन्दा पनि आफ्नो उन्नतिको लागि मात्रै सोचेको देखिन्छ । त्यस्तै सरकारले बजार बढ्दा खतरा भयो भन्ने तर घट्दा नबोल्दिने गरेको छ ।  केही लगानीकर्ताहरू अरूको भरमा लहलहैमा लागेर आएका कारण पनि शेयर बजार अस्थिर भएको देखिन्छ । 

शेयर बजार जहिले पनि घट्दैन र सधैँ बढ्दैन पनि । शेयर बजारको उतार चढावलाई सामान्य मान्नु पर्छ  । शेयर बजारको उतार चढावलाई हेरेर भन्दा पनि कम्पनीको स्थिति हेरेर लगानी गर्ने हो भने आत्तिनु पर्ने स्थिति आउँदैन । पछिल्लो अवस्थाको शेयर बजारको स्थितिले धेरै त्रासमा बस्नु पर्ने स्थिति पनि छैन । बजारको घटबढलाई लगानीकर्ताले स्वाभाविक मान्नु पर्छ  ।  

शेयर बजार बढेको बेलामा सबैले कमाउँछन् । तर, घटेको बेला कसरी कमाउने त ? जुन सेक्टरमा एउटा सीमित ग्रुपले खेलिरहेको छ त्यसबाट उसले हात छोड्दै छ जस्तो मैले ठूलो शेयर होल्ड गरेको छु भने तपाइलाई यो कम्पनी म बेच्दै छु तपाइ नि बेच्नु होस् भनेपछि तपाई बेचेर निस्किनु हुने भयो । चाहे त्यो १५ सयको कम्पनी १२ सयमा बेचेर निस्किनु भयो । आज ३ सय चार सय आउँदा तपाईँलाई फाइदा भयो । जसले शेयर बजारमा कमाउन हिँडेको छ त्यसले केही घाटा खाएर भए पनि बेचेर हिँड्यो भने फेरि त्यो शेयर तल्लो विन्दुमा आएको बेला कम मूल्यमा किनेर नाफा कमाउन सक्छ । 

घटेको बेलामा कमाउने भनेको ट्रेडरहरुले हो । नन फण्डामेन्टल कम्पनीहरूमा ट्रेड मात्रै गर्ने हो । लगानी गर्नुअघि कम्पनीहरूको बारेमा राम्रोसँग बुझेर मात्रै लगानी गर्न राम्रो हुन्छ । चलखेल ग्रुपबाट टाढा रहेर बुझेर मात्रै लगानीकर्ताहरूले लगानी गर्नु पर्ने हुन्छ । 

(लगानीकर्ता कञ्चनकृष्ण न्यौपानेसँग गरिएको कुराकानीमा आधारित)  

प्रतिक्रिया दिनुहोस