
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको मंगलबार बिहान बाँडफाँट हुने भएको छ । कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्मसम्म सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट गर्न लागेको हो । उक्त आईपीओ ग्लोबल आइएमइ क्यापिटलको कार्यालय नक्सालमा बाँढफाँट हुने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यी बाहेक सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरको बाँडफाँट भोलि हुने भएको हो ।
यस कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् । यी मध्य थप दुई जनाले एक एक कित्ताका दरले शेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब ९८ करोड र जारीपूँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । हाल कम्पनीको संस्थापकतर्फ चुक्ताभएको पूँजी रू। ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारण तर्फको आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशत शेयर हिस्सा रहने छ ।
आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।
प्रतिक्रिया दिनुहोस