aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुद्ध परम्परासँग जोडिएको धान संरक्षणमा लुम्बिनीका किसान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
बुद्ध परम्परासँग जोडिएको धान संरक्षणमा लुम्बिनीका किसान

भैरहवा । पछिल्लो समय मीठो बास्ना र स्वादिलो चामलका रूपमा लिइने कालानमक धानको जात लोप हुने अवस्थामा पुगे पछि लुम्बिनीका केही किसानहरु संरक्षणमा लागेका छन् । कालानमक धान बुद्धकालिन समयमा प्रचलित धानको जात भएको भन्दै किसानहरु संरक्षणमा लागेका हुन् । नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानिमक धानको खेती कम हुन थालेपछि यो लोप हुन थालेको हो । रुपन्देही जिल्लामा कालानिमक धानको उत्पादन अहिले निकै कम छ ।

स्थानीय जातको बहुमूल्य चामल मानिने कालानिमकको मूल्य बजारमा अन्य चामलभन्दा महँगो छ । ठूलाबडा तथा जमिन्दारको प्रमुख रोजाइ तथा पाहुनाको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा कालानमकको माग अत्यधिक छ । तर कम उत्पादन, रोग तथा किराको प्रकोप तथा ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् । वर्षौ देखि कालानमक धानको खेति गर्दै आएका लुम्बिनीका सत्यदेव पाठकले पहिले धानमा रोग कम लाग्ने र अहिले रोगले  सताउने गरेको बताउँछन् ।

स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै कृषकले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको छ । कम खर्चमा बढी उत्पादन हुने हाइब्रीड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हुँदै गएको किसान राम उजागिर पाण्डे बताउँछन् । बुद्धकालिन समयको धानको प्रजाति भएकोले बजारमा कालानमक धानको माग रहेको पूर्णिमा पाठक बताउँछिन् । बजारमा माग भएतापनि लागत धेरै हुने र उत्पादन कम हुने भएकाले किसानको आकर्षण नभएको भन्दै राज्यले लोपोन्मुख धानको संरक्षण गरि पर्यटन सँग जोडेर काम गर्नु पर्ने पाठकले बताइन् । 

परम्परागत धान भएको र बुद्ध धर्मसँग जोडिएकोले अहिलेका युवा पुस्ताले कालानमक धानलाई संरक्षण गर्ने दायित्व रहेको युवा कृषक मुरली कुमार कहार बताउँछन् । यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिचाइँको व्यवस्था भएको खेतमा मात्र लाउन सकिछ । कालानमक धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।  लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । 

प्रतिक्रिया दिनुहोस