
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनी एक भई हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन ।
दुवै कम्पनीको असार २ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जर प्रस्ताबलाई स्वीकृति प्रदान गरिएको थियो । उक्त स्वीकृति पत्रलाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरू नयाँ बन्ने संस्थाले सकार्ने गरी असार २३ गते अनुमति दिएको हो । दुबै कम्पनीलाई नियामक निकाय बीमा समितिले भने असार ८ गते मर्जरमा जान अन्तिम स्वीकृती प्रदान गरेको थियो ।
यी दुई कम्पनीहरूबीच गत वैशाख २३ गते दुबै मर्जरमा जाने सम्झौता भएको थियो । मर्जर सम्झौता गरेको दुई दुई महिनापछि यी कम्पनीहरूले एकिकृत कारोबार थाल्न लागेका हुन । एभरेष्ट इन्स्योरेन्को १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन ।
मर्जर पश्चात बन्न हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने कम्पनीको भनाई छ । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख ९ हजार रूपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस