aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपभोक्ताले तत्काल विद्युतीय चुलो नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असार २०७९
उपभोक्ताले तत्काल विद्युतीय चुलो नपाउने

काठमाडौँ । दुर्गमका उपभोक्ताले तत्काल विद्युतीय चुलो नपाउने भएका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले इक्डक्सन चुलो (विद्युतीय चुलो) वितरण कार्य रोकेकाले विद्युतीय चुलो नपाउने भएका हुन । 

केन्द्रले दुर्गम क्षेत्रका उपभोक्ताहरुलाई आसार महिनाभित्र २० हजार विद्युतीय चुलो वितरण गर्ने तयारी थालेको थियो । जसमा केन्द्रले ८० प्रतिशत र स्थानीय उपभोक्ताले २० प्रतिशत व्यहोर्ने भनिएको थियो । 

तर, केन्द्रले तोकेको मापदण्ड भन्दा फरक चुलो आएका कारण इन्डक्सन चुलो वितरण गर्न नसकिएको  वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा.रणबहादुर थापाले आर्थिकन्युज डटकमलाई बताए । उनले भने, ‘स्थानीयको सहकार्यमा स्थानीय तहका उपभोक्तालाई असार मसान्तसम्म वितरण गर्ने तयारीमा थियौं । तर, चुलोमा प्राविधिक समस्या आएकोले तत्काल वितरण गर्न नसक्ने भयौं ।’ उक्त विद्युतीय चुलो वितरण कार्य नै स्थगित भने नभएको डा. थापाले बताए । दुई महिना पछि वितरण गर्ने योजनामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार ठेकेदारको बदमासीका कारण फरक चुलो आएकोले तोकिएको समयमा वितरण गर्न नसकिएको हो । केन्द्रले ताकेको मापदण्ड भन्दा कम साइजको  विद्युतीय चुलो आएकोले चुलो वितरण गर्न नसकिएको उनले गुनासो गरे । 

त्यस्तै, केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर अध्ययन गरिहेका विद्यार्थीहरुलाई पनि चुलो वितरण गर्ने प्रक्रिया अघि बढाइ सकेको छ । दुर्गम क्षेत्रका १० हजार विद्यार्थीलाई आगामी आर्थिक वर्षको पहिलो महिना भित्र चुलो वितरण गरिने केन्द्रका सहायक निर्देशक डा. थापाले बताए । 

प्रतिक्रिया दिनुहोस