aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असार २०७९
अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर वितरण गर्न लागेको हो । निष्काशन गरिने कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी १३ लाख ९५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले संखुवासभा जिल्लामा ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाबाट २०७८ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी नेपाल विद्युत प्राधिकरणको ३३ के.भि प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भैसकेको कम्पनीको भनाई छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड २८ लाख ७२ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू. १६ करोड ७३ लाख ९६ हजार रहेको छ । संस्थापक तर्फ ६० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर जारी गरिसकेको छ भने कर्मचारी सहित सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्न लागेको हो । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । 

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । सो अवधिसम्म कम्पनीको नाफा नोक्सान सम्बन्धी अवस्था भने आव्हान पत्रमा उल्लेख भएको छैन् । धितोपत्र दोस्रो बजारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने भएकाले प्रतिकित्ता रू. १०० देखि रू. ३०० सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस