काठमाडौं । सम्झौता पत्रमा हस्ताक्षर भएको एक दिनमै सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर भाडिने स्थितीमा पुगेको छ । यी दुई कम्पनीबीच बुधबार मर्जरमा जान सम्झौता भएको थियो । सम्झौता भएको एक दिनमै मर्जरमा दरार देखिएको हो ।
एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा बुधबार दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका थिए । मर्जरपछि कम्पनीको अध्यक्षमा जनरल इन्स्योरेन्सको तर्फबाट बन्ने र प्रमुख कार्यकारी अधिकृतमा सानिमा जनरलको तर्फबाट बन्ने सहमति भएको थियो ।
यी कम्पनीबीच बराबरी हैसियतमा मर्जरमा जाने सहमति भएको थियो । यी दुई कम्पनीको शेयर स्वाप रेसियो १ः१ को अनुपातमा रहने समेत सहमति भएको थियो । तर, जनरल इन्स्योरेन्सका प्रमुख शेयरधनिहरुले आफूहरुसंग सल्लाह नै नगरि सम्झौता गरिएको भनि असन्तुष्ट बनेका छन् । असन्तुष्ट पक्षले यस सम्झौता मान्दैनौं भनेर शुक्रबार अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
जनरल इन्स्योरेन्सको अध्यक्षको एकलौटि निर्णयका कारण मर्जर भाँडिने स्थितीमा पुगेको स्रोतले जनाएको छ । स्रोतले आर्थिक न्युज डटकमसंग भन्यो, ‘अध्यक्षले मर्जरका लागि एक्लै निर्णय गरे । अध्यक्षको एकलौटी निर्णय हामीलाई मान्य छैन । भोलि हामी मर्जर विरुद्ध मुद्दा दायर गर्छौ ।’
जनरल इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव रामप्रसाद पौडेलले भने यो मर्जरबारे चित्त नबुझेका असन्तुष्ट पक्ष नहरेको दाबी गरे । उनले भने, ‘सबै जनाको सहमतिमा मर्जर सम्झौता भएको हो । असन्तुष्ट पक्ष नै त छैनन । यसमा एकाध व्यक्तिहरुलाई चित्त नबुझेको हुनसक्छ । तर, कम्पनीसँग अन्य विकल्प नभएकाले यो मर्जर भएको पनि सबैले बुझ्नु पर्यो ।’
प्रतिक्रिया दिनुहोस