aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राप्ती हाइड्रोको आईपीओमा मागभन्दा करिब ८ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ साउन २०७९
राप्ती हाइड्रोको आईपीओमा मागभन्दा करिब ८ गुणा बढी आवेदन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६८८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ६५ हजार १५० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ७ दशमलव ९३ गुणा बढी हुन आउँछ ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात वितरण हुन नसकेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता आईपीओ जारी गरिएको हो । 

सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी २१ लाख ७६ हजार ९४० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि मागभन्दा करिब ८ गुणा बढी आवेदन परेको हो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीमा संस्थापक तर्फ ५२ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने पछिल्लो समय आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा ३८ प्रतिशत शेयर कम्पनीले वितरण गर्न लागेको हो । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार कायम हुनेछ ।

यस कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । साउन १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य सहित आयोजनाको निर्माण कार्य भईरहेको कम्पनीले जानकारी दिएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत रू. २६ करोड ६८ लाख ८५ हजार छ भने कुल लागत रू. १ अर्ब ३३ करोड ४४ लाख २८ हजार हुने अनुमान गरिएको छ । 

गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनी रू. २ करोड २ लाखभन्दा बढी संचित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३५ छ । धितोपत्र दोस्रो बजारमा सचीकृत पश्चात कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १०६ दशमलव ३५ देखि रू. ३१९ दशमदज शून्य ५ सम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मुल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने व्यवस्था रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस