
काठमाडौं । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरमुरे, मदिरा लगायत स्मार्ट फोनहरू, टेलिभिजन, जिप, कार र भ्यान, मोटरसाइकल आयात प्रतिबन्धलाई निरन्तरता दिएको जनाएको छ । यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।
सरकारले सवारी साधनको आयातमा गरिएको प्रतिबन्धको असर ‘नाडा अटो सो’लाई पर्ने भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म नाडा अटो सोको आयोजना गर्ने तयारी गरिरहेको थियो । गाडी आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याइएको कारण उक्त अटो सो गर्न नसक्ने अवस्थामा पुगेको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।
उनले भने, ‘सरकारले गरेको गाडी आयात प्रतिबन्धका कारण नाडाले गर्न लागेको नाडा अटो सो समेत प्रभावित बन्ने भएको छ । उक्त सोमा हामीले नयाँ गाडीहरू डिस्प्ले गर्ने तयारी रहेको थियो । प्रतिबन्ध लम्बिइरहेको छ, यस्तो बेला नयाँ गाडी नै ल्याउन नपाएपछि नाडा सो गर्न पनि सकिँदैन । अब गाडी नै ल्याउन नपाएपछि सो नहुन सक्छ ।’
दुई वर्ष पछि हुन लागेको नाडा अटो सोमा अधिकांश कम्पनीले आफ्नो नयाँ प्रोडक्ट सार्वजनिक गर्ने तयारी गरेका थिए । तर, गाडी ल्याउनलाई नै प्रतिबन्ध गरेपछि नयाँ प्रोडक्ट नआउने भए । यसो हुँदा अटो सो गर्न नै नसकिने अवस्थामा पुगिएको उनको भनाई छ ।
विभिन्न निकायसँग हारगुहार गर्दा समेत कुनै पनि निकायले अटो मोबाइल्स व्यवसायीको समस्या सम्बोधन नगरेको अध्यक्ष थापाले गुनासो गरे । विगत ८/१० महिनादेखि अटोमोवाईल्स क्षेत्र ठप्प रहेका कारण अटोमोवाईल्स क्षेत्रमा अहिले विभिन्न समस्याहरू रहेको उनको भनाई छ ।
‘अहिले अटोमोवाईल्स व्यवसायीहरू ठूलो सङ्कटमा छन् । व्यवसायीहरू कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थामा हामी पुगेका छौँ । हामीले हाम्रो समस्या लिएर विभिन्न सम्बन्धित निकायसँग राख्यौँ । तर, कुनै पनि निकायले हाम्रो समस्या बुझेन’, उनले भने ।
यसअघि पनि अटोमोवाईल्स क्षेत्रसँग सल्लाह नगरी एकै पटक आयात बन्द गरिएकोमा अध्यक्ष थापाले गुनासो गरे । उनले भने, ‘निजी गाडीको आयात अहिले ठप्प छ । कसको योगदान सरकारलाई कति छ भनेर आयातमा प्रतिबन्ध लगाउनु पर्छ । आवश्यकताको आधारमा गाडी आयात गर्न दिनु पर्छ । निजी गाडी ल्याउँदा सरकारलाई यसले वार्षिक ३० अर्ब रुपैयाँ योगदान गरेको छ । राजस्वमा गरेको योगदानलाई पनि हेरेर आयातमा प्रतिबन्ध गर्नु पर्छ ।’
अध्यक्ष थापाका अनुसार सवारी साधनमा लगाइएको आयात प्रतिबन्ध साउनदेखि खुल्छ भन्ने आशा रहेको थियो । आयात गर्न दिनुको साटो प्रतिबन्ध थप गरिएको छ । सरकारले अटो मोबाइल्स क्षेत्रमा तहसनहस पार्न खोजेको देखिएको छ । ‘अहिले पनि गाडीहरूको विक्री ठप्प रहेको छ । यस्तो अवस्थामा कर्मचारी पाल्न समेत समस्या रहेको छ । अहिले हामी अटो मोबाइल्स व्यवसायीहरू सोरुम बन्द गरेर कर्मचारीलाई बिदा गर्नु पर्ने अवस्थामा रहेका छौँ’, उनले भने ।
त्यस्तै, आयातमा थप प्रतिबन्ध गरेपछि दसैँ तिहारको लागि नयाँ गाडी समेत बजारमा नपाइने उनले बताए । दसैँ तिहारको समयमा ४० देखि ५० प्रतिशतसम्म सवारी साधनको खरिदबिक्री हुने गरेको थियो । अन्य बाँकी रहेको ५० प्रतिशत अरू महिनाहरूमा हुने गर्छ । तर, यस वर्षको दसैँ तिहारमा भने प्रतिबन्धका कारण व्यापार व्यवसाय नहुने उनको गुनासो छ ।
अटो मोबाइल्स व्यवसायीलाई सोरुम बन्द गरेर बस भन्ने तरिकाले सरकारले यस्तो निर्णय गरेको बताउँदै उनले भने, ‘अटो मोबाइल्स क्षेत्रमा करिब एक लाख जना मानिसहरू आबद्ध रहेका छन् । अधिकांश व्यवसायीहरू सोरुम सर्भिस सेन्टर बन्द गर्नु पर्ने अवस्थामा पुगेका छन् । हामीले कामदारलाई घर पठाउनु पर्ने हाम्रो बाध्यता रहेको छ । सरकारले गलत निर्णय गरेका कारण यी सबैको रोजगारी खोसिँदै छ ।’
प्रतिक्रिया दिनुहोस