
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजीको वृद्धि गरेपछि धमाधम चुक्त पुँजी पुर्याउने होडमा बीमा कम्पनीहरु लागेका छन् । असार मसान्तसम्म विभिन्न बीमा कम्पनीहरु एक आपसमा मर्ज गरेर बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने तयारीमा लागिसकेका हुन् । केही बीमा कम्पनीहरुले भने चुक्ता पुँजी पुर्याउने कुनैपनि योजना हालसम्म पनि बीमा समितिमा पेश गरेका छैनन् ।
बीमा समितिले आउँदो २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउने योजना समेत पेश नगरेका बीमा कम्पनीहरुलाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चुक्ता पुँजी पुर्याउने विभिन्न उपायहरुको बारेमा आर्थिकन्यु्ज डटकमसँगको कुराकानीमा बताएका छन् ।
उनका अनुसार अहिले भएको चुक्ता पुँजीमा २० प्रतिशतसम्म मात्र हकप्रद शेयर जारी गर्दा पुँजी पुग्नेले हकप्रद शेयर जारी गर्न सक्नेछन् । यसका साथै, आईपीओ जारी नगरेका कम्पनीहरुले पनि पुँजी वृद्धि गर्न संस्थापकहरुले नै रकम हालेर पाउने कानुनी व्यवस्था रहेको उनले बताए ।
उनले भने, ‘आईपीओमा नगएका कम्पनीहरुले पनि पुँजी वृद्धि गर्न पाउँने कानुनी व्यवस्था छ । केही कम्पनीहरुले संस्थापकबाट पनि पुँजी वृद्धि गछौं भनेका छन् । कतिपय कम्पनीहरुले ७० प्रतिशत संस्थापक शेयरधनीहरुहरुलाई पनि आह्वान गरेका छन् । संस्थापकले पत्याउँछन् भने पुँजी थपुन । जसरी हुन्छ पुँजी वृद्धि गर्नुपर्यो ।’
‘उनीहले संस्थापकबाट पुँजी वृद्धि गरेर ३० प्रतिशत आईपीओ जारी गर्छन् । यदि संस्थापकले थप पैसा हाल्छ भने कम्पनी प्रतिको विश्वास पनि बढ्छ, यो राम्रो कुरा हो । केही कम्पनीहरुले मर्जरको लागि प्रारम्भिक सम्झौता गरिसकेका छन् । केही कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ’, उनले भने ।
समितिले गत चैत १० गते सबै बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । समितिले निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गर्न भनेको थियो । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न समेत समितिले भनेको थियो । तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरु मर्जरमा जानुुपर्ने समेत भनेको थियो ।
समितिको निर्देशन अनुसार केही कम्पनीहरुले मर्जर सम्झौता गरी एकिकृत कारोबार समेत गरिसकेका छन् । निर्जीवन बीमा कम्पनी तर्फका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले बीमा समितिबाट सैद्धान्तिक सहमति समेत पाएका हुन् । यी कम्पनीहरुले साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । उक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ नाघेको छ ।
अध्यक्ष सिलवालका अनुसार जीवन बीमा कम्पनी तर्फका रिलायबल, सिटिजन र सन नेपाल लाइफ कम्पनीले संस्थापकबाट पुँजी वृद्धि गर्न लागेका हुन् । ‘एशियन लाइफ इन्स्योरेन्सले आब २०७७/७८ को १८ प्रतिशत बोनस शेयर सहित गरी चुक्ता पुँजी पुर्याउछु भनेका छन । आइएमइ लाइफ इन्स्योरेन्सलाई पनि रिलायबलसँग मर्जरमा जाउ भनेको हो । तर, संस्थापकबाट नै चुक्ता पुँजी पुर्याउने प्रस्ताव गरेको छ’, उनले भने ।
असाइन क्यापिटलको विषयमा पनि कम्पनीहरुले चुक्ता पुँजी बराबरको जिम्मा लिए पुग्ने उनले बताए । अध्यक्ष सिलवालले भने, ‘विदेशी कम्पनीहरुले चुक्ता पुँजी बराबरको जिम्मा हामी लिन्छौ भनेर चिठी लेखेर दिएपनि हुन्छ । उनीहरुको मुख्य कार्यालयले पूँजीको व्यवस्था गरिदिन्छ भने हामी मान्छौं । एलआएसी नेपालले पनि आफ्नो भागमा भएको पैसा हाल्छौ भनेको छ । उसले हाल्छ भने नेपालीलाई पनि पैसा हाल्न दिनुपर्छ नत्र मर्जरमा नै जान्छ ।’
‘विदेशी कम्पनीहरुको हकमा छुट्टै खालको व्यवस्था गर्नुपर्ने हुन्छ । गाभ्ने÷गाभिने कुरा आउँदैन’, उनले थपे । हाल सञ्चालनमा रहेका सरकारी बीमा कम्पनीहरु राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले पनि चुक्ता पुँजी वृद्धि नगरेमा कारबाहीमा जाने अध्यक्ष सिलवालले बताए । उनले भने, ‘सरकारी बीमा कम्पनीहरुले पनि पुँजी वृद्धि गर्नुपर्छ । यी कम्पनीहरुलाई हामीले चिठी पनि लेखिसकेका छौं । उनीहरुले अर्थमन्त्रालयमा पनि कुरा पनि गरिसकेका छन् । उनीहरुको मुख्य समस्या लेखापरिक्षण हो । चुक्ता पुँजी वृद्धि गरेनन् भने हामी उनीहरुलाई कारबाही गर्छाैं ।’
यससँगै असारमा जीवन र निर्जीवन गरी १९ वटा बीमा कम्पनीहरुले मर्जरको प्रारम्भिक सम्झौता गरेका छन् । हालसम्म मर्जरमा जाने बीमा कम्पनीहरुमा जीवन बीमा कम्पनीतर्फ ९ वटा र निर्जीवन कम्पनीतर्फ १० वटा कम्पनीहरु रहेका छन् ।
समितिका अनुसार मर्जर सम्झौता गरेका जीवन बीमा कम्पनीहरुमा युनियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ, प्राइम लाइफ, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान असार १२ गते प्रारम्भिक सम्झौता गरेका हुन् ।
त्यस्तै, रिलायन्स र सानिमा लाइफ सहित आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका हुन् । त्यसैगरी, प्रभु र महालक्ष्मी लाइफले मर्जरपछि सम्झौता गरेका छन् । यी कम्पनी कम्पनीहरु स्वाप रेसियो १ः१ अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
समितिका अनुसार मर्जरको लागि प्रारम्भिक सम्झौता गरेका निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले मर्जरको सम्झौता गरेका हुन् । त्यसैगरी, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले पनि १०० बराबर ८० को स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् ।
त्यस्तै, प्रभु र अजोड इन्स्योरेन्सले मर्जरको सम्झौता गरेका छन् । उक्त सम्झौता अनुसार मर्जरपछि प्रभु इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने भएको छ । समितिको निर्देशन अनुसार आउँदो चैत मसान्तसम्म मर्जरमा गएका कम्पनीहरुले हकप्रद तथा बोनस शेयरमार्फत न्यूनतम पुँजी पुर्याउन सक्ने व्यवस्था पनि यथावत राखेको छ ।
प्रतिक्रिया दिनुहोस