काठमाडौं । बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुँजीवृद्धिका लागि बीमा कम्पनीहरु धमाधम मर्जरको बाटोमा गइरहेका छन् । गत असार मसान्तसम्म १९ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान सैद्धान्तिक सहमति गरिसकेका छन् । केही बीमा कम्पनीले त एकिकृत कारोबार पनि शुरु गरिसकेका छन् ।
बीमा समितिले दिएको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आउदो चैत मसान्तसम्ममा ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ । पुँजीवृद्धि गर्न मर्जरको बाटो रोजेका बीमा कम्पनीहरु बाहेक अझै १६ वटा बीमा कम्पनीहरुले कसरी पुँजी वृद्धि गर्छन् भन्नेबारे अन्योल अझै पनि छ ।
समितिले तोकेको चुक्तापुँजी जीवन बीमा तर्फ नेपाल लाइफको मात्रै पुगेको छ । यस कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । तोकिएको चुक्तापुँजी पुर्याउनका लागि ९ वटा जीवन बीमा कम्पनीहरुले मर्जर सम्झौता गरिसको छन् ।
यता युनियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ, प्राइम लाइफ, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका हुन् । त्यस्तै, रिलायन्स र सानिमा लाइफ सहित आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका छन् । प्रभु र महालक्ष्मी लाइफले पनि मर्जर सम्झौता गरिसकेका छन् ।
अझै केहि जीवन बीमा कम्पनीहरुले हाल तोकेको चुक्तापुँजी पुर्याउन धेरै नै थप्नुपर्ने देखिन्छ । समितिले तोकेको चुक्ता पुँजी पुर्याउने नसक्ने जीवन बीमा कम्पनीहरुमा युनियन लाइफ इन्स्योरेन्स, गुँरास, प्राइम, सूर्यालाईफ, ज्योति लाईफ, रिलायन्स, सानिमा, प्रभु र महालक्ष्मी एशियन, लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, सिटिजन, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
एशियन लाइफ इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । समितिले तोकेको ५ अर्ब रुपैयाँ पुँजी वृद्धिका लागि उक्त कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीले समितिले तोकेको पुँजी वृद्धिका लागि २ अर्ब ७८ करोड रूपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसार उक्त कम्पनीले ९६ करोड ४८ लाख रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ उक्त कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसारको चुक्ता पुँजीका लागि ३ अर्ब ६० करोड रुपैयाँ पुँजी थप गनुपर्नेछ ।

राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । समितिले तोके अनुरुपको पुँजी वृद्धिका लागि कम्पनीले अझै ४ अर्ब ८१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ । तर, यस कम्पनीको तत्काल पुँजीवृद्धि गर्न नसक्ने देखिएको हो ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाल सिलवालका अनुसार समितिले तोकेको पुँजीवृद्धि गर्नका लागि आईपीओ जारी नभएका कम्पनीले आईपीओ जारी गर्ने, हकप्रद शेयर निष्काशन गरेर या मर्जरमा गएर भएपनि पुँजीवृद्धि गर्न सक्नेछन् । तर, यी सबै गर्नका लागि कम्पनीको लेखापरिक्षण गरिएको हुनेपर्नेछ । राष्ट्रिय बीमा संस्थानको लामो समयदेखि लेखापरिक्षण हुने सकेको छैन । त्यसैले यो कम्पनीलाई पुँजीवृद्धि गर्न सकस हुने देखिएको हो ।
त्यस्तै, अध्यक्ष सिलवालले आईपीओ जारी नगरेका कम्पनीहरुले पनि संस्थापकहरुले नै रकम हालेर पुँजी वृद्धि गर्न पाउने कानुनी व्यवस्था रहेको बताए । उनले भने, ‘आईपीओमा नगएका कम्पनीहरुले पनि पुँजी वृद्धि गर्न पाउने कानुनी व्यवस्था छ । केही कम्पनीहरुले संस्थापकबाट पनि पुँजी वृद्धि गछौं भनेका छन् । कतिपय कम्पनीहरुले ७० प्रतिशत संस्थापक शेयरधनीहरुहरुलाई पनि आह्वान गरेका छन् । संस्थापकले पत्याउँछन् भने पुँजी थपुन । जसरी हुन्छ पुँजी वृद्धि गर्नुपर्यो ।’
उनका अनुसार संस्थापकबाट पुँजी वृद्धि गरेर ३० प्रतिशत आईपीओ जारी गर्छन् । यदि संस्थापकले थप पैसा हाल्छ भने कम्पनी प्रतिको विश्वास पनि बढ्छ, यो राम्रो कुरा हो । केही कम्पनीहरुले मर्जरको लागि प्रारम्भिक सम्झौता गरिसकेका छन् । केही कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ ।
रिलायबल, सिटिजन र सन नेपाल लाइफ कम्पनीले संस्थापकबाट पुँजीवृद्धि गर्ने भनेर समितिमा जानकारी दिएका छन् । एशियन लाइफ इन्स्योरेन्सले आब २०७७÷७८ को १८ प्रतिशत बोनस शेयर सहित गरी चुक्ता पुँजी पुर्याउछु भनेका छन । आइएमई लाइफ इन्स्योरेन्सले पनि संस्थापकबाट नै चुक्ता पुँजी पुर्याउने प्रस्ताव गरेको छ समितिले जनाएको छ ।
यता निर्जीवन तर्फका ८ कम्पनीहरुको समितिले तोके अनुसारको चुक्तापुँजी पुगेको छ्रैन । निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स ३० प्रतिशत हकप्रद शेयर जारी गरेर बीमा समितिले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने भएको छ । हाल शिखर इन्स्योरेन्सको चुक्तापँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । पुँजी वृद्धिको लागि मर्जरमा नगएका निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । समितिले तोकेको पुँजी वृद्धिका लागि कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, नेको इन्स्योरेन्सले ७५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
समितिका अनुसार एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । उक्त कम्पननीले १ अर्ब १७ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ । त्यस्तै, समितिले तोके अनुसार पुँजी वृद्धिका लागि प्रुडेन्सियल कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ हाल उक्त कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

समितिका अनुसार मर्जरको लागि प्रारम्भिक सम्झौता गरेका निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले मर्जरको सम्झौता गरेका हुन् । त्यसैगरी, प्रभु र अजोड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले पनि मर्जरमा जान सम्झौता गरेका गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस