काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । आज प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
अघिल्लो वर्ष प्राधिकरणले २ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको थियो। प्राधिकरणले विद्युत चुहावट १५.३२ प्रतिशतमा झारेको छ । अघिल्लो आवमा चुहावट २०.४५ प्रतिशत थियो। प्राधिकरणले गत आर्थिक वर्षमा ७८ प्रतिशतले ग्राहक संख्या वृद्धि गरी ४५ लाख पुगेको जनाएको छ । प्राधिकरकणले सञ्चित नोक्सानी १० अर्बले घटाउँदै १५ अर्ब १३ करोडमा झारेको छ । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले सरकारको ढुकुटीमा १५ अर्ब ५९ करोड दाखिला गरेको छ ।
प्राधिकरणले विद्युत् उत्पादनमा पनि निजी क्षेत्रको तुलनामा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । प्राधिकरणको उत्पादन हिस्सा ३४ प्रतिशत, निजी क्षेत्रको २९ र आयात ३७ प्रतिशत रहेको छ । गत आवको कूल सात अर्ब ५५ करोड युनिट विद्युत् उपलब्धतामध्ये प्राधिकरणको करीब दुई अर्ब ५५ करोड युनिट, निजी उत्पादकको दुई अर्ब १९ करोड र आयात दुई अर्ब ८१ करोड युनिट रहेको छ ।
गत आर्थिक वर्षमा प्राधिकरणले निजी उत्पादकबाट रु १४ अर्ब १३ करोडको बिजुली खरीद गरेको थियो । त्यस्तै रु २३ अर्ब तीन करोडको विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा प्राधिकरणले रु ३२ करोडको बिजुली निर्यातसमेत गरेको थियो । गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण आन्तरिक उत्पादनमा भएको वृद्धि तथा तराईका क्षेत्र डुबानका कारण आन्तरिक खपत कम हुँदा प्राधिकरणले झण्डै ५०० मेगावाट विद्युत् निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस