aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भाटभटेनी सुपर मार्केटले छपियाका माछालाई उपेक्षा गर्यो : किसान

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • शुक्रबार, ०६ साउन २०७९
भाटभटेनी सुपर मार्केटले छपियाका माछालाई उपेक्षा गर्यो : किसान

भैरहवा । माछापालनको लागि नमुना क्षेत्रका रूपमा विकास हुँदै गएको रूपन्देको छपियामा मत्स्य पर्यटक भित्राउने योजना थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत छपियालाई केन्द्र भागमा राखेर ‘मत्स्य जोन’को कार्यक्रम सञ्चालन भएपछि पर्यटक आउन थालेका हुन् । 

छपियाका माछामालक किसानहरुले २०६५ सालमा सहकारी स्थापना गरेर नै व्यवसायलाई संस्थागत गर्दै अगाडि बढेका छन् । छपियामा रहेको जलदेवी मत्स्य उत्पादक सहकारी संस्थाका ३ सय ३७ जना किसान माछा पालन कार्यमा आबद्ध छन् । यहाँका किसानले ३ सय ५० हेक्टरमा माछा पालन गर्दै आएका छन् । व्यवसाय गर्दा सुरु प्याक परियोजनाले बरफ उत्पादन गर्न आर्थिक सहयोग गरेकोमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा बोक्ने पिकप गाडी, भवन निर्माण र फ्रोजन फिस बनाउने मेसिनमा समेत सहयोग गर्दै आएको अध्यक्ष गणेश शाही बताउँछन् ।

छपियामा उत्पादित माछा देशको मुख्य सहर भैरहवा, बुटवल, चितवन, पोखरा र काठमाडौंमा विक्रि हुने गरेको छ । स्वास्थ्यका हिसाबले पनि माछा सेवन लाभदायिक रहेपछि मुलुकमा ताजा माछाको माग बढ्दो छ । शाही भन्छन् “बजारको माग अनुसार ज्यूदोमाछा बिक्रि गर्दै आएका सो क्षेत्रका किसानले अहिले फ्रिजन गरेर विक्रि गर्न थालेका छन् । उपभोक्ताले ज्यूदो माछा बनाउन असजिलो मान्ने र फ्रिजनलाई सहज र स्वादिलो मान्ने गरेकोले माग अनुसार प्रविधिमा विकास गर्दै काम गरेका छौं । आधुनिक मेसिनबाट माछा कटिङ हुने र माइनस ३२ डिग्रिमा फ्रिजन गर्ने र माइनस १६ डिग्री मा राखेर बजारमा पु¥याउने हुँदा माछा स्वादिलो हुने गरेको छ ।”

माछा पालनका लागि उपयुक्त तापक्रम, उपयुक्त पानी अनि माटोलगायतका कारणले रूपन्देहीको छपियामा माछा पालन राम्रो भएको हो । केही वर्षदेखी छपिया माछा पालनसँगै पर्यटक भित्राउने नयाँ रणनीति ल्याएको छ । मत्स्य पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएको रिसोर्टबाट राम्रो आम्दानी गर्न किसानहरु सफल भएका छन् । देशमा सञ्चालित ठुला ठुला सुपर मार्केटहरुले छपियाका किसान सँग बढी मार्जिन रहने गरी माछा माग गर्ने गर्दा भाटभटेनी जस्ता सुपर मार्केटमा छपियाको माछा छैनन् । सुपरमार्केटले भारत लगायत तेस्रो मुलुकबाट माछा आयात गरि विक्रि गर्ने गरेका छन् । सुपर मार्केटहरुले स्वदेशमा उत्पादित माछालाई प्रोत्साहन गर्न नखोजेको अध्यक्ष शाही बताउँछन् ।

सरकारले माछामा आत्मनिर्भर बनाउनको लागि लगानी गरेर माछा उत्पादनमा अब्बल सावित गर्दै गर्दा सुपरमार्केटले व्यापार प्रवद्र्धनमा सहयोग नगरेको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख नारायण काफ्ले बताउँछन् । 

प्रतिक्रिया दिनुहोस