
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । यी बाहेक बाँकी १० लाख ९३ हजार ७४९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यो आईपीओ छिटोमा साउन १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन २३ गतेसम्म विक्रीको अवधि लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको अवस्था छ । यसर्थ यस कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदको माग गर्न सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९००रूपैयाँ रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपश्चात् चुक्तापूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रूपैयाँ कायम हुनेछ । कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत , आयोजना प्रभावित स्थानीयतर्फ १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट प्राप्त हुने रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्ने काममा प्रयोग गर्ने बताएको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८४ लाख ४२ हजार रूपैयाँ संचित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रूपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १०२ रूपैयाँ रहेको छ । आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले ५ करोड ४९ लाखभन्दा बढी संचित नाफा गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ पु¥याउने प्रक्षेपण पनि कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस