काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमवार बिहान क्यापिटलकै कार्यालयमा सम्बन्धीत कम्पनीको समेत उपस्थितिमा आईपीओ बाँडफाँट कार्याक्रम सम्पन्न गरेको हो ।
यस आईपीओ खरीदका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन प्राप्त भएकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । कुल आवेदकहरूमध्ये १ हजार ४२४ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको क्यापिटलले जानकारी दिएको छ ।
योग्य १४ लाख ९० हजार २९८ जना आवेदकहरूलाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जना आवेदकले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १२ लाख ७४ हजार २८ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत २१ लाख ७६ हजार ९४० कित्ता शेयर विक्री गरेको थियो । सर्वसाधारणलाई यस अघि स्थानीयमा विक्री खुला गर्दा वितरण हुन नसकेको ३७ हजार ६२३ कित्ता समेत गरी कुल २३ लाख ६६ हजार २४० कित्ता शेयर वितरण गरेको हो ।
सर्बसाधारणलाई वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको थियो ।
कम्पनीमा संस्थापक तर्फ ५२ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार कायम भएको छ ।
यस कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको प्रतिमेगावाट लागत रू. २६ करोड ६८ लाख ८५ हजार छ भने कुल लागत रू. १ अर्ब ३३ करोड ४४ लाख २८ हजार हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनी रू. २ करोड २ लाखभन्दा बढी संचित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३५ छ । धितोपत्र दोस्रो बजारमा सचीकृत पश्चात कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १०६ दशमलव ३५ देखि रू. ३१९ दशमदज शून्य ५ सम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मुल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस