
काठमाडौं । बीमा समितिले यही साउन १ गतेदेखि लागु हुने गरी म्यादी बीमालेखको पुल प्रणाली खारेज गर्यो । समितिले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमा लेख पुल सम्बन्धी कार्यविधि’ खारेज गरेसँगै बीमितहरुलाई सहज भएको छ ।
समितिले यही साउन १ गते यता इच्छुक सबै जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार जीवन बीमा लेख जारी गर्न सक्ने व्यवस्था मिलाएको बीमा समितिका सूचना अधिकारी निर्मल भट्टराई बताउँछन् ।
‘समितिले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई अहिले सबै बीमा कम्पनीहरुले गर्न मिल्नेगरी खुला गरेको छ । सबैलाई खुला गरिदिँदा राम्रो हुन्छ भन्ने सुझाव आएका कारण डिजिटल माध्यमबाट गर्ने गरी खुला गरेका हौं’, उनले अगाडी थपे, ‘पहिले चार वटा कम्पनीहरुले म्यादी बीमा गर्दै आएका थिए । तर, पछि अरु कम्पनीहरुले हामी नि गर्छौ भन्न थाले । सबै कम्पनीहरुले छुट्टा छुट्टै बीमालेख जारी गर्दा राम्रो हुन्छ भन्ने खालको सुझाव अन्य निकायहरुबाट पनि आउन थाल्यो ।’
उनका अनुसार म्यादी बीमा वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएको अवधिमा छ महिना सम्म थप हुने गर्छ । वैदेशिक रोजगारीमा गएकाहरुलाई केही भएमा बीमा गरेको अवधि भन्दा बढि ३ महिनासम्मको क्षतिपुर्ति बेहोर्ने गर्छ । प्रिमियम नै बीमा अवधि भरको लिएको हुन्छ त्यसभन्दा बढि समयको क्षति बेहोर्दैन ।
‘अहिले डिजिटल माध्यमबाट सबै वैदेशिक रोजगार म्यादी बिमा जारी हुन्छ । आम्दानी प्रतिशत सरकारले तोके अनुसार नै रहेको छ । वैदेशिक रोजगारीमा जानेहरु बढे भने आम्दानी प्रतिशत पनि बढ्छ नत्र सरकारले तोके अनुसार नै छ’, उनले भने ।
यसअघि चारवटा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फत म्यादी बीमा गर्दै आएका थिए । यसो हुँदा बीमितहरुले आफ्नो रोजाइ अनुसार बीमा गर्न पाएका थिएनन् । यो प्रणाली खारेज भएसँगै बीमितहरुले आफ्नो रोजाई अनुसार म्यादी जीवन बीमा गर्न सहज भएको जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘पुल मार्फत बीमा गर्दा बीमितहरुले आफ्नो रोजाइ अनुसार बीमा गर्न पाएका थिएनन् । पहिले चार वटा कम्पनीहरुले मात्रै गर्ने गरेका थिए । सबै कम्पनी मार्फत गर्न पाउने भएपछि बीमितहरुलाई पनि कम्पनी रोजेर बीमा गर्न सहज भएको छ ।’
पुल हटाएपछि बीमितहरुलाई पनि सहज भएको दोहोर्याउँदै अध्यक्ष श्रेष्ठ भन्छन्, ‘पुल मार्फत बीमा गर्दा मुल्याङकन गर्न समय लाग्ने गथ्र्यो । अहिले सबै कम्पनीहरुले गर्दा मुल्याङकनमा पनि सहज भएको छ । विशेष गरी सबै कम्पनीहरुले बीमा बिक्री गर्न पाउन भनेर पुल मार्फत गरिने प्रणालीलाई खुला गरेको हो ।’
बीमितहरुले श्रम स्विकृति नविकरण गरेर बसेको बेला पनि उनीहरुले बीमा नविकरण गर्न पाउने उनले बताए । उनले भने, ‘वैदेशिक रोजगार बीमा म्यादी बीमाको अवधि सकिएपनि बीमितहरुले भिसा नविकरण गरेर बसेमा उनीहरुको आवश्यकता अनुसार बीमा नविकरण गर्न पाउँछन् ।’
सरकारले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई अनिवार्य गरेपछि पुल मार्फत बीमा गरिने व्यवस्था गरिएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरूले अनिवार्य रुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस