
काठमाडौं । बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको थियो । विशेषत नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने कम्पनीले जनाएको छ ।
सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाई छ । त्यसैले अहिलेको अफ्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भएपनि हामीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको कम्पनीले जनाएको छ ।
साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएको छ । मूल्य वृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन्२०२१ मा नेपालमा बीवाइडी इसिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौं । तर, पछिल्लो १५÷१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’
सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बस्नु भएका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् । इसिक्स र एमथ्रीको बारेमा बीवाइडी इ सिक्सको नयाँ जेनेरेशन मोडल ग्राहकले मन पराएका छन् । बीवाइडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री सबैभन्दा बलियो पक्ष हो । जुन एम थ्री मोडलमा पनि छ । ब्लेड ब्याट्री सुरक्षाको हिसावले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ । इसिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ ।
साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउनेछन् । पूर्णत इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको इ सिक्स आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रसस्त स्पेश पाउन सक्ने कम्पनीले जनाएको छ । एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस