aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रेलमा यात्रुको चाप बढ्दै, थप दुई सेट रेल आवश्यक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ साउन २०७९
रेलमा यात्रुको चाप बढ्दै, थप दुई सेट रेल आवश्यक

काठमाडौं । जयनगर–कुर्था खण्डमा सञ्चालनमा रहेको रेलमा यात्रुको चाप धेरै हुने गरेको छ । यस क्षेत्रमा रेल सञ्चालन भएको बेला सधैजसो यात्रुहरु भरिभराउ हुने गरेका छन् । जयनगर–कुर्था क्षेत्रका लागि सरकारले दुई सेट रेल खरिद गरेको थियो । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुग्ने गरेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ हुने गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनले भने, ‘अहिले जयनगरबाट कुर्थासम्म नियमित रेल सञ्चालन भइरहेको छ । यस क्षेत्रमा दुई थान रेल सञ्चालन भइरहेको छ । त्यसमा पनि थोरै यात्रुहरु अटाउने गरेका छन् । यात्रुको चाप बढ्दो छ । रेलको क्षमता कम छ । साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ हुने गरेका छन् । कतिपय यात्रुले टिकट काटेर समेत यात्रा गर्न पाइरहेका छैनन ।’ 

महाप्रबन्धक झाका अनुसार रेल दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । कुर्थाबाट जयनगरका लागि बिहान १०ः४५ बजे र साँझ ५ः१५ बजे छुट्छ भने जयनगरबाट कुर्थाका लागि बिहान ८ः३० बजे र दिउँसो ३ः१५ बजे छुट्छ । 

यात्रुको चाप हेर्दा सो क्षेत्रमा थप रेल आवश्यक रहेको उनले बताए । अहिले यात्रुहरुको चाप हेर्दा उक्त स्थानमा अझै दुई थान रेल र कार्गो सञ्चालन हुनुपर्ने देखिएको झाको भनाई छ । महाप्रबन्धक झाले भने, ‘हाल सञ्चालनमा रहेका दुई थान रेलमा थप दुई सेट रेल र एउटा कार्गोका लागि सरकारले पहल गर्दिन आवश्यक देखिएको छ । जसको क्षमता कम्तीमा २५ सय यात्रु बोक्ने क्षमता भएमा अहिलेको यात्रुको चाप अनुसार ठिक हुन्छ ।’

हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन भइरहेको छ । जयनगर कुर्था क्षेत्रमा सञ्चालनमा रहेको रेलमा सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद गर्नुपर्ने हुन्छ भने एसीसहितको डिब्बामा भने सामान्यभन्दा पाँच गुणा बढी शुल्क लाग्छ । 

उनले भने, ‘रेल चढेर धेरैजसो जयनगर किनमेल गर्न जाने गरेका छन् । सधैजसो यात्रुहरुलाई सिट अपुग हुने गरेको छ । शनिबार त झन धेरै यात्रु हुने गरेका छन् । अझै एक थान रेल यस क्षेत्रमा सञ्चालन गर्नु पर्ने आवश्यकता देखिएको छ ।’ साथै उनले यात्रुको चाप धेरै रहेका कारण सिट व्यवस्थापनमा समस्या हुने गरेको समेत जानकारी दिए । 

उनका अनुसार नियमितरुपमा रेल चल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा छ । यस क्षेत्रको पर्यटन, धार्मिक क्षेत्रको विकास र नेपाल–भारतबीचको व्यापार व्यवसाय विस्तारमा योगदान पुगेको छ । रेल सञ्चालनपछि विश्व सम्पदा सूचीमा रहेको जनकपुरधाममा भारतीय पर्यटक बढेका छन् । 

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुईवटा रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षसम्म सञ्चालनमा आउन सकेको थिएन । नेपाल सरकारले भारतबाट खरिद गरेको रेल लामो समयसम्म थन्किएकोमा गत चैत २० गतेबाट सञ्चालनमा आएको हो । 
 

प्रतिक्रिया दिनुहोस