नेपालीहरुले देखेको रेल चढ्ने सपना ढिलै भए पनि पुरा भएको छ । ३५ किलोमिटर दुरी भएपनि जयनगरदेखि कुर्थासम्म अहिले रेल सञ्चालन भइरहेकको छ । यस क्षेत्रमा रेल सञ्चालन हुँदा नेपालीहरुको रेल चढ्ने सपना पुरा हुनुको साथै नेपालको अर्थतन्त्रमा समेत थप टेवा पुगेको छ । रेल सञ्चालनपछि जनकपुर क्षेत्रको पर्यटकीय गतिविधिमा समेत चहलपहल बढेको छ । सो क्षेत्रमा सञ्चालनमा आएको रेलको अवस्था र यसले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदान हामीले चर्चा गरेका छौं । यसै विषयमा रहेर आर्थिकन्युज डटकमकी सम्वादाता रिता राउतले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासंग कुराकानी गरेकी छन् । प्रस्तुत छ, सोहि कुराकानीको सम्पादित अंशः
नेपालीहरुले लामो समयदेखि देखेको रेल चढ्ने सपना बल्ल पुरा भएको छ । जयनगर कुर्था क्षेत्रमा हाल सञ्चालमा रहेको रेलको अवस्था कस्तो छ ?
धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरको दुरीमा रेल्वे ट्रयाक विस्तार भएको छ । सो क्षेत्रमा हाल दुई सेट रेल सञ्चालनमा रहेका छन । नेपालमा यो एकमात्र रेल सेवा सञ्चालनमा छ । रेल सञ्चालन हुनु भनेको नेपालीका लागि गौरवको विषय पनि हो । यस क्षेत्रका लागि सञ्चालन गर्न भनेर ल्याईएको रेल लामो समयसम्म सञ्चालन गर्न सकिएको थिएन । खरिद गरेको लामो समयसम्म ती दुई सेट रेललाई त्रिपालले छोपेर राखिएको थियो ।
त्यतिबेला हामीलाई त्रिपालमुनि छोपिएको रेल कसरी सञ्चालनमा ल्याउने भन्ने नै पहिलो चुनौती रहेको थियो । म नियुक्त भएको पाँच महिनापछि बल्ल रेल सञ्चालन गर्न सफल भए । त्यतिबेला म नियुक्त हुनु भन्दा १८ महिना अघि खरिद गरेर त्रिपालले छोपेर राखिएको थियो । विभिन्न चुनौतीलाई पार गर्दै हामीले रेल सञ्चाल गर्न सफल भयौं । निश्चय पनि लामो समयमा प्रतिक्षापछि नेपालीहरुले रेल चढ्न पाएका छन् । रेल सञ्चालन पछि जनमानसमा उत्साह देखिएको पाइएको छ ।
वि.सं २०७८ साल चैत्र महिनादेखि जयनगर कुर्थामा नियमित रेल सञ्चालन भइरहेको छ । रेल सञ्चालनपछि नेपाल र भारतबीचको व्यापार पारवहनमा पनि विकास भएको छ । दुई देशको पर्यटकिय गन्तब्य पनि पहिल्याएको छ ।
रेल सञ्चालनले कुनै एउटा मात्रै विषयवस्तुहरुलाई छोएको छैन । यसले धार्मिक पर्याटकीय गन्तब्य पहिल्याएको छ । व्यापार पारवहनलाई पनि विकास गरेको छ । नेपाल र भारतबीचका नागरिकहरुको सम्बन्धमा विस्तार गरेको छ । रेल सञ्चालनले नेपालको आर्थिक क्षेत्रलाई नजिकबाट यागदान दिइरहेको छ ।
रेल सञ्चालनपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ । आजका दिनमा भारतीय यात्रुहरु आउँदा वैदेशिक मुद्रा समेत आर्जन भइरहेको छ । नेपालको अर्थतन्त्र खस्किरहेको अवस्थामा विदेशी मुद्रा आर्जन हुनु भनेको त सकारात्मक हो । हरेक हिसावले नेपालमा रेल सञ्चालनले सकारात्मक प्रभाव पारिरहेको छ ।
यात्रुको चाप कस्तो छ ?
यात्रुको चाप धेरै नै छ । आजका दिनमा जसरी यात्रुहरु बढीरहेका छन् यसले हामीलाई पनि उर्जा थपिरहेको छ । शनिबार, आइतबार र बुधबार एकदमै यात्रुको भिडभाड हुने गरेको छ । यस दिन हामीले दुई वटा नै डेमो ट्रेन जोडेर चलाउँछौं । अरु दिन पालोपालो चलाउने गरेका छौं । एउटा सञ्चालन गर्दा अर्कोलाई मेन्टेनेन्समा लैजानु पर्ने भएकोेले पालो पालो गरेर चलाउने गरेका छौं ।
अहिले हामीसंग दुई थान रेल मात्रै छ । त्यो पनि एकदम थोरै यात्रु मात्रै अटाउँछन् । यात्रुको चाप एकदमै बढेको छ तर, रेल सानो भयो । टिकट काटेर पनि कतिपय यात्रुहरुले यात्रा गर्न पाइरहेका छैनन । रेलमा ठाउँ नभएपछि हामीले काटेको टिकटको पैसा समेत फिर्ता दिनु पर्ने बाध्यता भएको छ ।
रेलमा कस्ता प्रकारका यात्रुहरु धेरै छन् ?
नेपाल र भारतबीच भनेको दुई देशको मात्रै सम्बन्ध छैन । यी दुई देशका नागरिकहरु बीचको पनि सम्बन्ध छ । नेपाल र रभातबीच बेटी रोटीको पनि सम्बन्ध छ । यसले गर्दा कतिपय यात्रुहरु आफन्तकोमा जाने आउने खालका यात्रुहरु रहेका छन् । त्यति मात्रै होइन रेल मार्फत किनमेलका लागि पनि आवतजावत हुने गरेको छ ।
त्यस्तै भारततिर नेपालीहरु धार्मिक क्षेत्रका लागि घुम्न जानुका साथै उपचार गर्न लगायत काममा जाने यात्रुहरु रहेका छन् । भारतबाट रेलमा आउने र जनकपुरधाम घुम्ने र पोखरासम्म जाने खालका यात्रुहरु रहेका छन् ।
रेल सञ्चालनका लागि दैनिक कति खर्च लाग्ने रहेछ ? मेन्टेनेन्समा कति लाग्छ ?
समग्रमा दैनिक खर्च कति लाग्छ भनेर ठ्याक्कै भन्न सकिने अहिले अवस्था छैन । किनभने हामीले अब असार मसान्तसम्मको हिसाब गरेर दैनिक खर्चबारे निकाल्ने काम गरिरहेका छौं । यसपछि मात्रै थाहा हुन्छ दैनिक कति खर्च हुन्छ । तर, डिजेल र नेपाली कामदारको कुरा गर्ने हो भने एउटा सेट मात्रै रेल सञ्चालन गर्दा करिब एक दिनमा २५० देखि ३ सय लिटरसम्म डिजेल खर्च हुन्छ । नेपाली म्यानपावरका लागि महिनाको १६ लाख रुपैयाँ हामीले पैसा दिनु पर्छ ।
हाम्रो टिकटबाट उठ्ने पैसाले खर्च धान्न सम्भव छ । हामीले नेपाली र भारतीय दुबै तिरको यात्रुको लागि टिकट भाडा उस्तै राखेका छौं । सामान्य सिटमा प्रतिव्यक्ति ९० रुपैयाँ टिकट शुल्क रहेको छ भने एसिमा ४५० रुपैयाँ टिकट शुल्क रहेको छ । यात्रुहरुको टिकटबाट जति पैसा उठ्छ त्यसले नेपाली कामदार लगायत अन्य कुराहरुको खर्च गर्न सकिने रहेछ । तर, अरु थप आम्दानी गर्नका लागि हामीले बनाएका योजना अनुसार नेपाल सरकारले सहयोग गर्नु पर्ने देखिन्छ । नेपाल सरकारले सहयोग गर्ने हो भने हामी छोटो दुरीको ट्रेन भएपनि आम्दानी बढाउन सक्छौं ।
यात्रुको चाप हेर्दा यस क्षेत्रमा थप दुई सेट रेल आवश्यक देखिएको छ । जयनगर कुर्था क्षेत्रमा कम्तिमा २५ सय यात्रु अटाउन सक्ने खालको ट्रेन आवश्यक देखिएको छ । दुई सेट यात्रु बोक्ने र एउटा कार्गो खालको ट्रेन सरकारले खरिद गरिदिनु पर्ने आवश्यकता देखिएको छ ।
अहिले नेपाली कामदार नभएका कारण खर्च केहि बढी हुन गएको छ । नेपाली कामदार हुने हो भने खर्च कम हुन्छ । आफैले नेपाली कामदार राख्न पायो भने भारतिय कामदार राख्नु पर्दैन । नेपाली कामदार भएमा नेपालको न्युनतम पारिश्रमिकमा नै कामदार राख्न सक्छौं । यसो गर्न सकियो भने सम्पूर्ण खर्च बेहोरेर पनि नाफामा जान सक्छौं ।
धेरैजसो रेल सञ्चालनका भारतीय कामदार रहेका छन् । त्यसबापत उनीहरुले कति खर्च लगिरहेका छन् ?
अहिले रेल सञ्चालनका लागि २६ जना भारतिय कर्मचारी रहेका छन् । अहिले भारतीय कामदाहरुलाई धेरै पैसा तिर्नु पर्ने बाध्यता रहेको छ । उनीहरुले वार्षिक पाँच करोड भारतिय रुपैयाँ दिनु पर्छ । ती २६ जना कामदार नेपाली भएदेखि अधिकृत तहको तलब दिए पुग्छ । नेपाली पैसा बाहिर पनि जादैन ।
हामीलाई आवश्यक परेको थप दुई थान रेल खरिद गरेर नेपाल सरकारले रेल्वे कम्पनीलाई हस्तान्तरण गर्यो भने अरु संस्थान जस्तो प्रतिरक्षात्मक अवस्थामा रहँदैनौं ।हामी फड्को मारेर देखाउँछौं ।
रेल सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी नेपाली नै रहन सम्भव छैन ?
सम्भव छ । नेपाली कामदारहरु उत्पादन गर्नका लागि शुरुमा हामीले भारत पढ्न पठाउनु पर्ने हुन्छ । भारत सरकारले रेल सञ्चालनका लागि आवश्यक पर्ने केहिलाई जनशक्तिलाई निशुल्क तालिम दिन्छौं भनेको छ । त्यसका लागि हामीले पहल गरिरहेका छौं । रेल सञ्चालनका लागि नेपाली कामदार राख्नु पर्नेमा सरकारसंग सहकार्य गरेर रेल्वे कम्पनीले पहल गरिरहेको छ । सम्भवत भारतीय कामदारहरुको करार अवधि सकिने बेलासम्ममा नेपाली कामदार उत्पादन गर्न हामी लागि परेका छौं ।
त्यसो भए नेपालमा रेल सञ्चालन गर्न सकिने रहेछ भन्ने यहाँको अनुभव रह्यो । हाम्रो भौगोलिक बनावट अनुसार थप ठाउँहरुमा रेल सेवा विस्तार गर्न कति सम्भव छ ?
जयनगर कुर्था क्षेत्र बाहेक १७ किलोमिटर पिलारीदेखि विजलापुर क्षेत्रमा चाडै रेल सञ्चालन गर्ने तयारीमा रहेका छौं । ३५ किलोमिटरसम्म सञ्चालनमा रहेको रेललाई थप विस्तार गर्दै चाँडै ५२ किलोमिटरसम्म सञ्चालन गर्दैछौं । यसबाहेक बर्दिबाससम्म १८ किलोमिटर रहन्छ त्यसमा पनि हामीले अबको एक वर्षभित्रमा रेल सञ्चालन गर्ने तयारीमा छौं ।
त्यस्तै, भारतको पत्तनाहादेखि विराटनगरसम्म रहेको १८ किलोमिटरको रेलको ट्रयाक पनि निर्माणको अन्तिम चरणमा रहेको छ । यता झापा तिरको खण्डमा पनि निर्माणको अन्तिम चरणमा रहेको छ । विरगञ्ज क्षेत्रमा रहेको रेलको ट्रयाक र भैरहवा क्षेत्रमा पनि रेलको ट्रयाक निर्माण कार्य धमाधम भइरहेको छ । यी क्षेत्रमा अबको डेढ वर्षभित्र यी काम सम्पन्न गरेर हामीलाई हस्तान्तरण हुनेछ ।
लालबन्दीदेखि निजगढसम्मको क्षेत्रमा नेपाल सरकार आफैले रेलको ट्रयाक बनाइरहेको छ । त्यससंगै निजगढदेखि काठमाडौंसम्मको १३६ किलोमिटर रेल विस्तार गर्न डिपिआरको काम सम्पन्न भइसकेको छ । काठमाडौंका तीन ठाउँमा पनि मेट्रो रेल सञ्चालन गर्न चिनियाँ सरकारबाट डिपिआरको काम भइरहेको छ । केरुङदेखि मेची महाकाली रेल्वे विस्तारको काम भइरहेको छ । समग्रमा अबको पाँच वर्ष पछि कम्तिमा पाँच सय किलोमिटरभन्दा घटी नेपालमा रेल्वे लाइन हुने छैन ।
भौगोलिक हिसावले पनि नेपालमा रेल विस्तार गर्न सम्भव रहेको छ । केहि अफ्ठारो छैन । हिमाल पहाड क्षेत्रमा रेल सेवा विस्तार गर्न सकियो भने त्यस क्षेत्रका नागरिकहरुको जिवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ । यससंगै नेपालको अर्थतन्त्रलाई समेत थप टेवा दिनेछ ।
रोडभन्दा रेलको लाइन एकदमै राम्रो रहेको छ । राजमार्गमा लगानी गर्यो भने पाँच वर्षमै खेर जान्छ । कुनै ठाउँमा सडक बनायो भने पाँच वर्षसम्म पनि राम्रारी टिक्दैन तर रेल्वे लाइन विस्तार गर्यो भने कम्तिमा ६० वर्षसम्म चल्न सक्छ । रेल्वे लाइन विस्तार गर्न लगानी धेरै पर्छ । लगानी धेरै परेपनि दिगो पक्कै छ । रेल्वे लाइन विस्तार गर्न सडकको जति पनि जग्गा चाहिदैन । यससंगै रेल सेवाको भाडादर समेत सस्तो पर्न जान्छ । एकै पटक रेलको ट्रयाक विस्तार गर्न सम्भव नभएपनि वहुवर्षिय योजना ल्याएर भएपनि विस्तार गर्न आवश्यक छ । रेल्वे लाइन विस्तार गरियो भने नेपालको आर्थिक क्षेत्रमा पनि कायापलट हुनेछ ।
प्रतिक्रिया दिनुहोस