
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले मंगलवार अपरान्ह ४ बजे आफ्नै कार्यालयमा मंगलवार आईपीओ बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १५ लाख ४७ हजार ९४९ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड ६९ लाख १६ हजार ८८० कित्ताको शेयर खरीद माग भएको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कुल आवेदकहरूमध्ये १ हजार ६६५ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य १५ लाख ४६ हजार २८४ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट सहभागी गराईएको हो । योग्य आवेदकहरूमध्य १ लाख ९ हजार ३७४ जनाले शेयर प्राप्त गरेका छन् ।
यी मध्य भाग्यमानी ९ जनाले ११ कित्ता शेयर प्राप्त गरेको जानकारी विक्री प्रबन्धकले दिएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको कुल कित्ता शेयर पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरी बाकी रहेको ९ कित्ता शेयर थप ९ जनालाई एक एक कित्ताका दरले पुनः बाँडफाँट गरेको हो ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत १० लाख ९३ हजार ७४९ कित्ता शेयर विक्री गरेको थियो । सर्वसाधारणमा वितरण हुने कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ ।
यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९०० रूपैयाँ रहेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपश्चात् चुक्तापूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रूपैयाँ कायम भएको छ । कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत , आयोजना प्रभावित स्थानीयतर्फ १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम भएको हो ।
नतिजा हेर्नका लागि बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np बाट र मन्दाकिनी हाइड्रोपावर कम्पनीको वेबसाइट http://www.mandakinihydro.com.np बाट हेर्न सकिने छ ।
पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?
सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात् कम्पनीले कुल कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउँनेछ । कम्पनीको शेयरको पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज तोक्नेछ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रूपैयाँ रहेको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ३०६ रूपैयाँसम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस